भाउ घटे पनि बढेन भाइमसलाको व्यापार, यस्तो छ बजार मूल्य

काठमाडौं । तिहार नजिकिएसँगै मुख्य व्यापारिक केन्द्रहरुमा मानिसहरुको चहल पहल बढ्न थालेको छ । असन, इन्द्रचोक लगायतका बजारमा भाइमसला, सप्तरंगी रंग, फूल र झिलिमिली लगायतका सामग्रीहरुले सजिएको छ ।

 

इन्द्रचोको मखन बजारमा भाइमसलाका लागि निकै प्रसिद्ध रहेको छ । उपत्यका मानिसहरु पसलका लागि होस अथवा घरमा आवश्यक पर्ने भाइमसलाका परिकारहरु मखन बजारबाटै किन्ने गर्छन । विगतका समयमा तिहार आउनु एक साता अघि देखिनै मखन बजारमा भाइमसला किन्ने मानिसको भिडले लाग्ने गर्थ्यो । यस बजारमा भाइमसला किन्नेको भीड हुने भएकाले लाइन लागेर ठेलमठेल गर्दै हिँड्नु पर्थ्यो । व्यापारीहलाई भाइमसला बेच्न भ्याइनभ्याइ हुने गर्थ्यो ।

 

तर, यो पटक मखन बजारमा भाइमसला किन्नेको चहल पहल घटेको छ । मखन बजारमा विगतमा जस्तो भीड देख्न पाइँदैन । मखन गल्लीबाट बिजुली बजार निस्कन सजिलो भएको छ । मखन बजारमा घटेको मानिसको भीडले भाइ मसला उपभोक्ता घटेको देखाउछ । विगतमा भन्दा भाइ मसलाको मूल्य कम भएपनि यो पटक किन्ने मानिसहरु भने छैनन् ।

 

व्यवसायीहरुलाई विगतकै स्टक विक्री गर्न धौधौ परेको छ । मखन बजारका विजय राज स्टोरका व्यवसायी विजय श्रेष्ठ यो पटक भाइमसला किन्ने उपभोक्ता कम भएको बताउँछन् ।उनले काजु, बदाम, ओखरको मूल्य केही घटेको बताएका छन् । अन्य सामग्रीको मूल्य बढेको उनको भनाइ छ ।

 

काजु : होलसेल बजारमा काजु प्रतिकेजी १४ सय रुपैयाँदेखि १५ सय रुपैयाँ केजीमा विक्री भइरहेको छ । गत वर्षको तुलनामा यसको भाउ प्रतिकेजी २०० रुपैयाँसम्म घटेको छ । खुद्रा बजारमा काजुको मूल्य प्रतिकेजी १६ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म रहेको छ । विगतको तिहारमा काजुको होलसेल मूल्य १६ सय रुपैयाँदेखि १७ सय रुपैयाँ रहेको थियो ।

 

बदामः बदामको मूल्य पछिल्लो समय होलसेलमा प्रतिकेजी ११ सय रुपैयाँ रहेको छ । विगतमा बदामको मूल्य १ हजार १५० रुपैयाँ प्रतिकेजी होलसेल मूल्य रहेको थियो । खुद्रा बजारमा बदामको मूल्य प्रतिकेजी १ हजार २७५ रुपैयाँ देखि १५ सय रुपैयाँसम्म रहेको छ ।

 

ओखर : ओखरको मूल्यमा प्रतिकेजी ८० रुपैयाँ घटेको छ । विगतमा ओखरको मूल्य प्रतिकेजी ६८० रुपैयाँ रहेको थियो । यो वर्ष तिहारमा ओखरको मूल्य प्रतिकेजी ५५० रुपैयाँमा झरेको छ । खुद्रा बजारमा दन्ते ओखर प्रतिकेजी ७ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म विक्री भइरहेको छ ।

खुर्पानी खुर्पानीको मूल्य विगतको तिहारमा १ हजार १५० रुपैयाँ प्रतिकेजी रहेको थियो । यो पटक तिहारमा यसको मूल्य घटेर ८०० रुपैयाँ प्रतिकेजीमा पुगेको छ । खुर्पानीमा ३५० रुपैयाँ मूल्य घटेको हो ।यस्तै मिश्रीको मूल्य भने १५० रुपैयाँ प्रतिकेजीमा कायम रहेको छ ।

 

यी भाइमसलाको भाउ बढ्यो

 

यो वर्ष कोभिडका कारण भाइमसला आयात कम भएको छ । र, उपत्यकामा भाइमसलाको खपत पनि कम देखिएको छ । खपत कम भएसँगै केही सामग्रीको मूल्य घटे पनि पेस्ता, किसमिस, नरिवल, ओखर, खुर्पानी, अंजिर, मखना, सुपाडी लगायतका सामग्रीको मूल्य बढेको छ ।

 

पेस्ताः पेष्ताको मूल्य प्रतिकेजीमा ४ हजार रुपैयाँ बढेको छ । विगतको तिहारमा पेस्ताको मूल्य प्रतिकेजी १ हजार ३६० रुपैयाँ रहेको थियो । यो वर्ष तिहारमा पेष्ताको मूल्य प्रतिकेजी १७ सय रुपैयाँ पुगेको छ । यो पेष्ताको होलसेल मूल्य हो । खुद्रा बजारमा पेष्ताको मूल्य प्रतिकेजी १८ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम् पुगेको छ ।

किसमिस : किसमिसको मूल्य ३९० रुपैयाँ प्रतिकेजीबाट बढेर ५ सय रुपैयाँ होलसेल मूल्य पुगेको छ । यस्तै, नरिवलको मूल्य गत वर्षको तिहारमा ३१० रुपैयाँ प्रतिकेजी रहेको थियो । यो वर्ष तिहारमा नरिवलको मूल्य ४०० प्रतिकेजी पुगेको छ । नरिवलको मूल्यमा ९० रुपैयाँ वृद्धि भएको हो । खुद्रा बजारमा नरिवल प्रतिकेजी ५ सय रुपैयाँ पुगेको छ ।

 

छोकडा :  विगतमा १६० रुपैयाँ प्रतिकेजी होलसेल मूल्यको छोकडा हाल १८० रुपैयाँ पुगेको छ । छोकडामा २० रुपैयाँ मूल्य वृद्धि भएको हो । खुद्रा बजारमा छोकडाको मूल्य प्रतिकेजी २०० रुपैयाँदेखि ३०० रुपैयाँ रहेको छ ।

 

सुपाडी सुपाडीको मूल्य गत वर्ष प्रतिकेजी ६५० रुपैयाँ प्रतिकेजी रहेको थियो । यो वर्ष तिहारमा सुपाडीको मूल्य बढेर ८५० रुपैयाँ पुगेको छ । सुपाडीको मूल्यमा २०० रुपैयाँ वृद्धि भएको हो ।

 

मखना : मखनाको मूल्य विगतमा ६५० रुपैयाँ प्रतिकेजी रहेको थियो । यो वर्ष मखनाको मूल्य निकै चुलिएको छ । मखना ६ सय ५० रुपैयाँ प्रतिकेजीबाट बढेर १ हजार रुपैयाँ प्रतिकेजी पुगेको छ । मखनाको मूल्यमा ३५० रुपैयाँ मूल्य वृद्धि भएको हो ।

 

भाइमसला भित्र पर्ने छुट्टा छुट्टै सामग्रीको मूल्य माथि उल्लेख गरिएका अनुसार रहेका छन् । प्याकिङ गरिएका भाइमसलाको मूल्य १०० रुपैयाँदेखि १० हजार रुपैयाँसम्म पर्न आउँछ ।

भाइमसलामा विशेष गरी काजु, बदाम, पेष्ता, ओखर र नरिवल, मखना, मिश्री लगायतका सामग्री राख्ने गरी छ । पछिले समय भाइमसलामा विभिन्न बजारु मिठाइ तथा खाने कुराहरु राख्न थालिएको छ ।भाइ मसालामा थपिने बजारु मिठाई, बिस्कुट, चिसो जस्ता खाने कुरा अनुसार मूल्यहरु थपिँदै जाने गरेको छ ।

 

आयात पनि घट्दो

 

यो वर्ष विगतको तुलनामा भाइमसला कम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको तुलनामा चालु आवको ३ महिनामा १६ करोड रुपैयाँ कमको भाइ मसला आयात भएको हो । विगतको तुलनामा यो वर्ष २० लाख केजी कम भाइमसला आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

वर्षेनी बढ्ने गरेको भाई मसलाको आयात चालू आर्थिक वर्षदेखि घट्न थालेको हो । चालू आवमा विगतका भाइमसलाहरुनै खपत हुन मुस्किल परेपछि व्यवसायीहरुले भाइमसला आयात कम गरेका हुन् ।

चालू आर्थिक वर्ष २०७७/७८ को ३ महिनामा १ अर्ब २६ करोड ६४ लाख रुपैयाँ बराबरको भाइमसला आयात भएको छ । सो मूल्यमा ५१ लाख ४४ हजार केजी भाइमसला आयात भएको हो ।

 

गत वर्ष २०७६/७७ को ३ महिनामा १ अर्ब ४२ करोड ८५ लाख रुपैयाँ बराबरको भाइमसला आयात भएको थियो । सो मूल्यमा ७५ लाख ८ हजार केजी भाइमसला आयात भएको थियो ।

 

आर्थिक वर्ष २०७५/७६ को ३ महिनामा १ अर्ब १ करोड ९६ लाख रुपैयाँ बराबरको भाइमसला आयात भएको थियो । सो मूल्यमा ६२ लाख ९७ हजार केजी भाइमसला आयात भएको थियो ।

 

लगानी बोर्डद्वारा साढे ३८ अर्बको विदेशी लगानी स्वीकृत, १९९ मेगावाटका ३ हाइड्रोपावरमा लगानी हुने Read Previous

लगानी बोर्डद्वारा साढे ३८ अर्बको विदेशी लगानी स्वीकृत, १९९ मेगावाटका ३ हाइड्रोपावरमा लगानी हुने

ढोलाहिटी-सुनाकोठी सडक कालोपत्र तिहार लगत्तै शुरू हुने, मङ्सिर १५ सम्म सक्ने लक्ष्य Read Next

ढोलाहिटी-सुनाकोठी सडक कालोपत्र तिहार लगत्तै शुरू हुने, मङ्सिर १५ सम्म सक्ने लक्ष्य