लगानी बोर्डद्वारा साढे ३८ अर्बको विदेशी लगानी स्वीकृत, १९९ मेगावाटका ३ हाइड्रोपावरमा लगानी हुने
चाणक्य पोष्ट
प्रकाशित : 11:42 am, बुधबार, कात्तिक २६, २०७७

काठमाडौं । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ ।

 

बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा मङ्गलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो ।

 

सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख बराबरको विदेशी लगानी स्वीकृत गरेको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले जनाकारी दिए ।

 

उनका अनुसार ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दूधखोला जलविद्युत् परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत भएको हो ।

 

यसैगरी उक्त बैठकमा लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्नेबारे छलफल भएको थियो ।

 

लगानीकर्तालाई एकल विन्दु सेवा केन्द्रद्वारा सहज र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने तथा ‘नलेज म्यानेजमेन्ट पोर्टल’ को स्थापना तथा उपयोग गर्ने विषयमा समेत छलफल भएको मिश्रले जानकारी दिए ।

 

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डमार्फत प्रवद्र्धन र सहजीकरण भएका परियोजनाहरु कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिबारे जानकारी गराएका थिए । भट्ट सीईओ नियुक्ती भएपछि बोर्डको पहिलो बैठक मङ्गलबार बसेको हो ।

Advertisement Section