ढोलाहिटी-सुनाकोठी सडक कालोपत्र तिहार लगत्तै शुरू हुने, मङ्सिर १५ सम्म सक्ने लक्ष्य

काठमाडौं । विस्तारको क्रममा रहेको ढोलाहिटी-सुनाकोठी सडक आगामी मङ्सिरको दोस्रो सातासम्ममा कालोपत्र गरिने भएको छ ।

 

३ किलोमिटर लम्बाइको यो सडक कालोपत्र चाँडो हुनुपर्ने माग गर्दै स्थानीयवासी पटक–पटक सडक अवरुद्ध गर्दै आएका छन् । कात्तिक मसान्तसम्ममा बेस (आधार)को काम सकाएपछि मङ्सिर १५ सम्ममा कालोपत्र सकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीले बताए ।

 

उनका अनुसार स्थानीयवासीसँग निर्माण कम्पनीले निर्माण भइरहँदा दैनिक दुईपटक पानी खसालेर धुलो कम गर्ने सहमति भएको छ । उनले भने, ‘तिहारलगत्तै कम्पनीले कालोपत्र शुरु गर्नेछ ।’

 

सो खण्डको निर्माणको जिम्मेवारी पाएको सैलुङ निर्माण कम्पनीले काम गरिरहेका आयोजनाले जनाएको छ । सो सडकमा कालोपत्र चाँडो गर्नुपर्ने माग गर्दै गत असारमा स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए । आयोजनाले पहिले तोकिएको मापदण्ड २० मिटर चौडाइमा निर्माण गर्न खोज्दा ढिलाइ भएको उनले बताए।

 

मन्त्रिपरिषद्को गत पुस ३ गतेको बैठकले काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सबै सडकमा उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेकाले सोहीअनुसार गर्न लागिएको हो । उनले भने, ‘कुनै पनि संरचना नभत्काइ भएकै चौडाइमा कालोपत्र भइरहेको छ ।’

 

ढोलाहिटी–लेले सडक विस्तार ४ वर्ष पहिले शुरु भएको थियो । अहिले पनि टाखेल–लेलेलगायत चौडाइ उपलब्ध भएका स्थानमा मापदण्डानुसार नै विस्तार भइरहेको छ । आयोजनाले गत वर्ष नै ठेचोबाट टाखेलसम्मको सडक निर्माण गरेको थियो ।

 

उपत्यकामा विस्तारका क्रममा रहेका सडक छेउमा घर भएका स्थानीयवासीले घरलगायत संरचना भत्काउन नमानेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध बनेको थियो । जति चौडाइ उपलब्ध छ त्यसैमा निर्माण गर्ने सरकारको निर्णयपछि भने आयोजनाले सबै सडकको निर्माण अघि बढाएको छ ।

 

आगामी पुससम्ममा सबै सडक सम्पन्न गर्ने आयोजनाले जनाएको छ । पटक–पटक ठेक्काको अवधि थपिए पनि अब थप्न नमिल्ने भएकाले कम चौडाइमै कालोपत्र गर्न लागिएको हो । उपत्यकामा एकै वर्ष विस्तार शुरु भएका १० सडकमध्ये अहिलेसम्म एउटा पनि डिभिजन सडक कार्यालयमा हस्तान्तरण भइसकेको छैन ।

भाउ घटे पनि बढेन भाइमसलाको व्यापार, यस्तो छ बजार मूल्य Read Previous

भाउ घटे पनि बढेन भाइमसलाको व्यापार, यस्तो छ बजार मूल्य

फूडमाण्डूले १० वटा स्टार्टअप कम्पनीसँग सहकार्य गर्दै Read Next

फूडमाण्डूले १० वटा स्टार्टअप कम्पनीसँग सहकार्य गर्दै