तिहारमा फूलको मूल्य २० प्रतिशतसम्म महँगिने, १५ लाख माला खपत हुने

काठमाडौं । यस वर्ष तिहारमा फूलको मालाको मूल्य २० प्रतिशतसम्म महँगिने भएको छ । कोरोनाका कारण फूलको खपत कम हुने देखिएपछि भारतबाट आयात नगरिने भएसँगै मालाको मूल्य बढ्ने भएको हो ।

 

यस वर्षको तिहारमा स्वदेशमै उत्पादित फूलले माग धान्ने जनाइएको छ । फ्लोरिकल्चर एशेोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजुले फूलको माग कम हुने भए पनि भारतबाट आयात नहुँदा मालाको मूल्य पनि २०/२५ प्रतिशतले बढ्ने बताए ।

 

विगतका वर्षहरुमा सयपत्री फूलको माला ४० देखि ५० रुपैयाँमा पाइने भए पनि यसवर्ष ६० देखि ७० रुपैयाँ हाराहारी पर्ने व्यवसायी बताउँछन् ।

 

‘भारतबाट माला आउँदा प्रतिस्पर्धा गर्नुपर्थ्यो, तर यो पटक माला नआउने भएपछि नेपाली मालाको मूल्य केही बढ्ने भएको हो,’ कसजुले भने ‘उपत्यकामा मालाको खपत घट्ने भए पनि उपतयका बाहिरका सहरहरुमा माग बढ्ने देखिन्छ ।’ विगतमा सयपत्री फूलको मालाको मूल्य ४० देखि ५० रुपैयाँमा पाइने भए पनि यसवर्ष ६० देखि ७० रुपैयाँ हाराहारी पुग्ने उनको भनाइ छ ।

 

विगतमा भारतबाट पनि सयपत्री फूल आयात हुने गरेकोमा यस वर्षको तिहारमा स्वदेशी सयपत्रीको फूलमाला नै प्रयोग हुने बताए । पछिल्लो समय सयपत्री फूलको खेती विस्तार हुँदै गएका कारण आत्मनिर्भरताको अवस्थामा पुगेको उनले बताए ।

 

‘यो पटक सयपत्रीमा आत्मनिर्भर तर्फ अघि बढेको छ, माग कम भएकाले सयपत्री फूल अपुग हुँदैन,’ कसजुले भने ‘सरकारले फूल आयातलाई निरउत्साहित गर्ने हो भने हामी आर्को वर्ष नेपाललाई पुग्ने फूल उत्पादन गर्न सक्छौँ ।’

 

तिहारमा १५ लाख माला खपत हुने अनुमान

 

यसवर्षको तिहारमा सयपत्री १२ लाख र मखमली ३ लाख गरी कुल १५ लाख माला आवश्यक पर्ने व्यवसायीहरुको भनाइ रहेको छ ।

 

गत वर्ष तिहारमा १५ करोड रुपैयाँ बराबरको माला आयात भएको थियो । गत वर्ष तिहारमा १८ लाख सयपत्री माला खपत भएको थियो । ५ लाख मखमली माला खपत भएको थियो । नेपालबाट २ लाख सयपत्री र २ लाख मखमलीका माला निर्यात भएको भन्सार तथ्यांकले देखाएको छ ।

 

गत वर्ष २ अर्ब २५ करोड रुपैयाँ बराबरको फूल कारोबार भएको थियो । सो वर्ष २६ करोडको फूल आयात भएको थियो भने ५४ लाख रुपैयाँको फूल निर्यात भएको भन्सारको तथ्यांकले देखाएको छ ।

 

यो वर्ष तिहारका लागि ३ लाख मखमली फूलका माला खपत हुने अनुमान गरिएको छ । १२ लाख सयपत्रीका माला खपत हुने अनुमान छ । अन्य मिक्स माला ५० हजार खपत हुने अनुमान गरिएको छ । फ्यानका अध्यक्ष कसजुका अनुसार यो वर्ष तिहामा १० करोड रुपैयाँ बराबरको मालाको कारोबार हुने अनुमान गरिएको छ ।

 

नेपालमा ३२ जिल्लामा सयपत्री र मखमली फूलको व्यवसायीक उत्पादन हुने गरेको छ । यो वर्ष ६ लाख बढी फूलका विरुवा रोपिएको बताइएको छ ।

 

सयपत्री फूलमा पूर्ण आत्मनिर्भर बन्नका लागि अध्ययन, अनुसन्धान, प्रविधिको प्रयोगमा जोडदिनुपर्ने व्यवसायीहरु बताउँछन् । निरन्तरको प्रयासपछि फूल आयातमा ५ प्रतिशत कृषि सुधार शुल्क अतिरिक्त शुल्क गरी १० प्रतिशत राजश्व लिने व्यवस्था गरेको छ ।

 

भारतबाट कलकत्ते प्रजातिको सयपत्री विशेष गरी नेपाल आयात हुने गरेको थियो । पछिल्लो सम भारतको कलकत्ते प्रजातिका सयपत्री फूलको नेपालमै खेती शुरू भइसकेको छ भने थाइल्याण्डको प्रजातिको पनि खेती शुरू भएको उनले बताए ।

 

पुष्प विकास केन्द्रका प्रमुख सुधिर श्रेष्ठले आयातलाई निरुत्साहित गर्न फूललाई पनि प्लान्ट क्वारेन्टाइनमा समावेश गरिनुपर्ने र क्वारेन्टाइनहरुलाई प्रभावकारी बनाइनु पर्ने बताए । पुष्प क्षेत्रको प्रवद्र्धनका लागि केन्द्रले सम्बन्धित विद्यार्थी र संघ संस्थाहरुसँग सहकार्यमा अध्ययन अनुसन्धान शुरू गरेको बताए ।

 

बीउ विजन प्रयोगशाला हेटौंडाका प्रमुख निर्मल गदालले कृषि ज्ञान केन्द्र मार्फत सयपत्री फूलको प्रवद्र्धनका लागि धेरै आधुनिक संरचनाहरु निर्माण भएकोले पनि सयपत्री फूलको उत्पादन बढेको बताए । यद्यपि यसवर्ष कोरोनाका कारण ठूलो संख्यामा मानिसहरु काठमाडौंबाट बाहिरिएका कारण सयपत्री फूलमा आत्मनिर्भर जस्तो देखिए पनि अझै उत्पादन बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

 

अनुसन्धानले काठमाडौं उपत्याकामा बाह्रै महिना सयपत्री फूल उत्पादन संभव रहेको देखाएको भन्दै सोहीअनुसार उत्पादनमा जोड दिनुपर्ने बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले सरकारले जारी गरेको पुष्प प्रवद्र्धन नीति, पुष्पमहोत्सवमा सहयोग, सयपत्री फूल खेती प्रवद्र्धन जस्ता कार्यक्रमका कारण फूल खेतीमा टेवा पुगेको बताए ।

 

यस्तै बजारमा भारतबाट झिलिमिली आर्टिफिसियल फूल आउने गर्दा त्यसले नेपालको फूललाई विस्थापित गर्ने गरेको छ । फूलको उत्पादनमा सँगै वितरण प्रणालीमा समेत कमजोरी रहेकोले वितरण प्रणाली राम्रो बनाउन पर्ने देखिन्छ । फूलको गुणस्तर बढाउन निकासी गर्न प्याकेजिङ र ब्रान्डिङमा पनि ध्यान दिनुपर्ने छ ।

नेपाल पुनर्बीमा कम्पनीमा किन झुम्मिए लगानीकर्ता, सेयर मूल्य हालसम्मकै उच्च Read Previous

नेपाल पुनर्बीमा कम्पनीमा किन झुम्मिए लगानीकर्ता, सेयर मूल्य हालसम्मकै उच्च

सेयर बजारलाई पुनर्बीमा कम्पनीले लिड गर्दै, पौने ४ अर्बको कारोबार Read Next

सेयर बजारलाई पुनर्बीमा कम्पनीले लिड गर्दै, पौने ४ अर्बको कारोबार