काठमाडौं । सेयर बजारमा लगातार हरियाली छाएको छ । आइतबार दोहोरो अंकले बढेको बजार सामान्य अंकले वृद्धि भएको छ ।
सूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १८ करोड रुपैयाँले बढोत्तरी आएको छ ।
सेयर बजार मापक सूचक नेप्से ४.२२ अंकले बढेर १६५२.८१ विन्दुमा पुगेको छ । यसदिन १९५ कम्पनीको ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ३१३ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ३५ हजार ३१३ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका १२ वटा समूहमध्ये ६ समूहको परिसूचक उकालो लागेका छन् भने ६ वटै समूहको परिसूचक ओरालो लागेको छ । आज सबैभन्दा धेरै निर्जीवन समूहको परिसूचक ६५.८५ अंकले बढेको छ भने जीवन बीमा समूह १७.१९ अंकले घटेको छ ।
आज पनि लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । हालसम्मकै उच्च मूल्य पुगेको यस कम्पनीको सबैभन्दा धेरै ५५ करोड १ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल टेलिकम र हिमालय डिस्ट्रिलरीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
बढ्दो बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सानिमा जनरल इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
आज घलेम्दी हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ४.८६ प्रतिशतले गुमाएका छन् ।