नेपाल पुनर्बीमा कम्पनीमा किन झुम्मिए लगानीकर्ता, सेयर मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । गत असार १५ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको पुनर्बीमा कम्पनीको मूल्य आज अहिलेसम्मकै धेरै प्रतिकित्ता ९७३ रुपैयाँ पुगेको छ ।

 

असार १५ गते प्रतिकित्ता ४२४ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य ४ महिनामै करिब साढे दुई गुणाले बढेको हो । पछिल्लो एक महिना ८५० देखि ८८० रुपैयाँको बीचमा कारोबार भइरहेको कम्पनीको सेयर मूल्य यो साता ह्वात्तै बढेको हो । पछिल्लो दुई दिनमै कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०० रुपैयाँभन्दा धेरैले बढीसकेको छ ।

 

गत शुक्रबार कम्पनीले साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले उक्त साधरण सभाबाट गत आवको नाफाबाट लाभांश सम्बन्धी कुनै औपचारीक घोषणा नगरे पनि रिजर्भ कोषमा ५ वर्षदेखिको नाफा सञ्चित रहेकोले आगामी दिनमा आकर्षक लाभांश दिने आशामा लगानीकर्ता यसको सेयरमा आकर्षित भएको आँकलन गरिएको छ ।

२०७१ सालदेखि व्यवसाय शुरु गरेको कम्पनीले अहिलेसम्म लाभांश दिएको छैन भने आर्थिक वर्ष २०७५/७६ को नाफाबाट पनि लाभांश नदिने औपचारिक घोषणा गरिसकेको छ । स्थापनाको ५ वर्षसम्म लाभांश बाँड्न नपाउने कानुनी व्यवस्था अनुसार लाभांश नबाँडेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट भने लाभांश वितरण गर्न पाउने भए पनि अहिलेसम्म घोषणा गरेको छैन ।

 

कम्पनीले गत आर्थिक वर्ष पहिलो त्रैमासदेखि यताको वित्तीय विवरण पनि सार्वजनिक गरेको छैन । वित्तीय विवरण सार्वजनिक नहुँदा लगानीकर्ताले कम्पनीको वास्तविक वित्तीय विवरणबारे जानकारी पाउन बञ्चित भएका छन् ।

 

तर, पछिल्लो समय यसको सेयर प्रति लगानीकर्ताको आकर्षण भने बढ्दै गएको देखिन्छ । सेयर बजारमा यस्तो प्रकृतिको कम्पनी एउटा मात्रै हुनाले पनि लगानीकर्ताको आकर्षण बढ्दै गएको हो । त्यस्तै, ठूला लगानीकर्ताले कम्पनीमा आफ्नो सेयर स्वामित्व बढाउन सेयर खरिद गर्दा यसको सेयरको माग बढ्दा भाउ बढेको लगानीकर्ता बताउँछन् ।

 

अहिलेसम्म औपचारिकरुपमा लाभांश घोषणा नगरेको कम्पनीको सेयर बजार हल्लाकै भरमा महँगो मूल्यमा किन्दा भने लगानीककर्ता आफै सचेत हुनुपर्ने देखिन्छ ।

 

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त Read Previous

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

तिहारमा फूलको मूल्य २० प्रतिशतसम्म महँगिने, १५ लाख माला खपत हुने Read Next

तिहारमा फूलको मूल्य २० प्रतिशतसम्म महँगिने, १५ लाख माला खपत हुने