विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै रिक्त स्थानमा शाक्यलाई जिम्मेवारी दिइएको हो।

 

शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनईए इन्जिनीयरिङ’ बाट प्राधिकरणमा फिर्ता बोलाएर यो जिम्मेवारी दिइएको छ। उनले सोमबार नै पदबाहाली गरेका छन् ।

 

शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइरालाबाट यो जिम्मेवारी खोसिएको छ। ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए ।

 

ऊर्जा मन्त्रालय सम्बद्ध अधिकारीहरूका अनुसार मन्त्री पुनले शाक्यलाई कार्यकारी निर्देशक बनाउने गरी प्राधिकरणमा फर्काएका हुन्। भदौ २८ गते घिसिङ बाहिरिएसँगै प्राधिकरण नेतृत्वविहीन भएको थियो ।

 

यसअघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहका लागि बढुवा भएपनि ११ औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएको थियो । त्यसैले बरिष्ठतामा शाक्य कोइरालाभन्दा माथि छन् ।

१७ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक Read Previous

१७ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

नेपाल पुनर्बीमा कम्पनीमा किन झुम्मिए लगानीकर्ता, सेयर मूल्य हालसम्मकै उच्च Read Next

नेपाल पुनर्बीमा कम्पनीमा किन झुम्मिए लगानीकर्ता, सेयर मूल्य हालसम्मकै उच्च