काठमाडौं । सुुदूर पश्चिम प्रदेश सहित ३० जिल्लाका अध्यक्षहरुले उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानललाई साथ दिने बताएका छन् ।
चुनावी कार्यक्रमको प्रचार प्रसारका लागि आज धनगढी पुगेका ढकालसहितको टोलीलाई जिल्ला अध्यक्षहरुले समर्थन गर्ने आश्वस्त पारेका हुन् । ढकालको नेतृत्वमा ढकालसहित जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी र महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकाल सहितको टोली गएका थिए ।
ढकाल प्यानलको चुनावी कार्यक्रम स्थल होटल फ्लोरामा सयौं उद्योगी व्यवसायी उपस्थित भएका थिए । सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्ला अध्यक्षले एकै स्वरमा भने ‘हामीले डेढ दशकपछि साना, मझौला तथा जिल्लाका उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्ने व्यक्ति पाएका छौं, त्यसले आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारीलाई जिताउनुको विकल्प छैन ।’

कैलालीको धनगढीमा आयोजित कार्यक्रमा ३० भन्दाबढी जिल्लाका नगर अध्यक्षहरुले समर्थन गर्दै जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका निमित्त पनि अबको निर्वाचनमा चन्द्रप्रसाद ढकाल प्यानललाई मतदान गरी जिताउनुको विकल्प नरहेको बताए ।
कार्यक्रममा उपस्थित ३० जिल्ला भन्दा बढीका जिल्ला नगरका अध्यक्षहरुले आफ्ना हकहितका लागि पनि अबका दिनमा जिल्ला नगरका साना उद्योग व्यवसाय देखि ठूला कर्पोरेट हाउससम्म सफलतापूर्वक संचालन गर्दै आएको र सरकारसँग आफ्ना समस्या समाधानका लागि पनि उत्तिकै लविङ गर्न सक्ने वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र जिल्लाका हरेक समस्यासँग जुध्दै आएका जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीलाई जिताउनुको विकल्प नरहको भन्दै सबैलाई उनीहरुको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।