काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई उछिन्दै ग्लोबल आइएमई बैंक बजार पूँजीकरणका आधारमा दशौं ठूलो कम्पनी बनेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत लाभांश घोषणा गरेसँगै सेयर मूल्यमा गिरावट आएपछि चार्टर्डको बजार पूँजीकरण घट्दै नेपाली सेयर बजारको १० ठूला कम्पनीको सूचीबाट बाहिरिएको हो ।
यता गत वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांश घोषणा गरेको ग्लोबल आइएमइको सेयर मूल्य बढेर बजार पूँजीकरण ५५ अर्ब ४० करोड पुर्याउँदै दशौं ठूलो कम्पनी बनेको हो ।
नेप्सेका अनुसार सेयर बजार पूँजीकरणका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । टेलिकमको बजार पूँजीकरण १ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ छ ।

यस्तै दोस्रो स्थानमा ८८ अर्ब ७५ करोड बजार पूँजीकरण सहित नबिल बैंक रहेको छ भने ८५ अर्ब ८० करोड रुपैयाँ पूँजीकरण रहेको नेपाल पुनर्बीमा कम्पनी तेस्रो स्थानमा रहेको छ ।
यस्तै, बजार पूँजीकरणका आधारमा नेपाल लाइफ इन्स्योरेन्स ७७ अर्ब ४४ करोड चौथो, नागरिक लगानी कोष ६१ अर्ब ५६ करोड पाँचौं, एनएमबी बैंक ६० अर्ब ८२ करोड, नेपाल इन्भेस्टमेन्ट बैंक ६० अर्ब ५५ करोड रुपैयाँ सहित क्रमशः शीर्ष सात स्थानमा रहेका छन् ।
त्यसैगरी, ६० अर्ब बजार पूँजीकरण रहेको एनआइसी एशिया बैंक आठौं एभरेष्ट बैंक ५७ अर्ब १७ करोड रुपैयाँ सहित नवौं स्थानमा रहेका छन् । नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण २१ खर्ब ९२ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।