काठमाडौं । बैंक अफ काठमाण्डू र हिमालयन बैंकले चीनको अदालतमा डेढ अर्ब रुपैयाँ भन्दा बढीको मुद्दा जितेका छन् ।
यी दुई बैंकले ८ वर्षपछि मेलम्ची खानेपानी आयोजनाको चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे विरूद्धको जमानत ग्यारेन्टी बसे बापत भएको नोक्सानी असुलउपरको मुद्दा जितेका हुन् । मुद्दा जितेसँगै दुवै बैंकको मेलम्ची खानेपानी आयोजनामा फसेको करिब १ अर्ब ५६ करोड रुपैयाँ रुपैयाँ उठ्ने भएको छ ।
यद्यपि मुद्दा हारेको चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्यूरो कम्पनी माथिल्लो अदालतमा जाने बाटो भने अझै खुला नै छ।
मुद्दा जितेसँगै जमानत फिर्ता बापत बैंक अफ काठमाण्डूले करिब ९० करोड रुपैयाँ (६६.२५ लाख अमेरिकी डलर) र हिमालयन बैंकले करिब ६६ करोड रुपैयाँ (१४.११ लाख यूरो तथा थप हर्जना सहित) फिर्ता पाउने भएका छन् ।
२००९ मा चिनीयाँ निमार्ण कम्पनी चाइना रेल्वे १५ ब्यूरोले मेलम्चीको सुरुङ्ग खन्ने ठेक्का पायो थियो । चाइना रेल्वेले २०१२ सम्ममा ६४४४ मिटर सुरुङ खनीसकेपछि बीचैमा काम छाडरे भागेपछि जमानत ग्यारेन्टी बसेका यी दुई बैंकको डेढ अर्ब बढी रकम फसेको थियो ।