कोरोनाले समस्यामा परेका व्यवसायीलाई नपेल्नु : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताएका छन् ।

 

केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उनले सबै नीतिलाई छायामा पार्ने गरी मौद्रिक नीति आएको भन्ने चर्चाका बीचमा यसको व्यावहारिक कार्यान्वयन नै अहिलेको प्रमुख आवश्यकता रहेको बताए।

 

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि राष्ट्र बैंकका पदाधिकारीसँगको भेटमा मौद्रिक नीति असाध्यै राम्रो रहेको र त्यसको व्यावहारिक कार्यान्वयन हुनुपर्ने सुझाव दिनुभएको सन्दर्भ जोड्दै गभर्नर अधिकारीले भने, ‘कार्यान्वयनका क्रममा केही कमीकमजोरी भए, त्यसलाई सुधार गरेर जान हामी तयार छौँ । त्यसका लागि सबैको साथ सहयोग भने अत्यावश्यक छ ।’

 

कोभिड– १९ का कारण समस्यामा परेका व्यवसायीलाई राहत दिन र उनीहरुलाई ढाडस दिने ढंगले केन्द्रीय बैंकले नियमकका रुपमा भन्दा सहजकर्ताका रुपमा आफूहरु प्रस्तुत भएको जनाउँदै उनले बैंक तथा वित्तीय संस्था एवम्, व्यवसायीलाई समेत सोही भावनालाई आत्मसात् गर्न आग्रह गरे ।

 

उनले भने, ‘कोभिड –१९ का कारण उद्योमशीलता नै मर्ने, व्यवसायी नै पलायन हुने अवस्था आयो । हामी परम्परागत कुरा छाडेर नियमकभन्दा पनि सहजकर्ताको रुपमा प्रस्तुत भयौं । नियमनको भूमिकामा रहँदा उद्यमी व्यवसायीलाई सुरक्षा गर्नुपर्छ, ढाडस दिनुपर्छ भन्नेतर्फ हामी लागेका छौँ ।’

 

व्यवसायीले पनि तत्काल आफूहरुलाई पैसा नचाहिएको बरु नीतिगत रुपमा राम्रो व्यवस्था र त्यसको व्यावहारिक कार्यान्वयन चाहेको उल्लेख गर्दै गभर्नर अधिकारीले कार्यान्वयनका क्रममा सूचनाको अभाव तथा बुझाइमा समस्या भए तत्काल आआफ्ना निकायलाई सूचना गर्नसमेत आग्रह गरे ।उनले भने ‘हामीले प्रवाह गरेको सूचना सही रुपमा नपुगेको भए, तत्काल पुर्याइन्छ । कार्यान्वयन प्रभावकारी नभए, जतिसुकै राम्रो नीतिको पनि कुनै अर्थ रहँदैन ।’

 

राष्ट्र बैंकले झण्डै २ खर्ब बराबरको पुनर्कर्जाको व्यवस्था गरेको र त्यसमा ७० प्रतिशत अर्थात् १ खर्ब ४८ अर्ब बराबरको रकम बैंक तथा वित्तीय संस्थाका माध्यमबाट प्रवाह हुने उनले जानकारी दिए । उनले बैंक तथा वित्तीय संस्थाले उक्त सुविधा प्राप्त गर्नेको सूची मात्रै राष्ट्र बैंकलाई पठाउन भनिएको स्पष्ट पारे ।उपलब्ध स्रोतअनुसार सबैलाई समानुपातिक रुपमा पुनर्कर्जाको सुविधा उपलब्ध गराइने उनको भनाइ थियो ।

 

केन्द्रीय बैंकमा प्राप्त सबै विवरणलाई यही महिनाको मसान्तभित्र स्वीकृत गरिने गभर्नर अधिकारीले जानकारी दिए । उनले ७५३ वटै पालिकामा उक्त सुविधा पुगोस् भन्ने आफ्नो ध्येय रहेको स्पष्ट गरे ।

 

गभर्नर अधिकारीले कोभिड –१९ का कारण समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई नकस्न र कालोसूचीमा राख्ने धम्की नदिन निर्देशन दिए । उनले कोभिडका कारण मारमा परेका व्यवसायीलाई राहत प्रदान गर्न र कुनै प्रकारको दवाव दिएर हतोत्साहित नबनाउनसमेत आग्रह गरे । उनले भने, ‘कोरोनाकालभन्दा पहिल्यैको उठाउनुपर्ने कर्जा भए त्यसलाई छुट नदिनुस् तर कोरोना कालको हो भने जबर्जस्ती नगर्नुस् ।’

 

उनले कमाएका व्यवसायीबाट कर्जा उठाउन कुनै आपत्ति नभए पनि समस्यामा परेका र कमाउन नसकेका व्यवसायीलाई समस्यामा पार्न नहुनेमा जोड दिए।

६० करोडको आइपीओ ल्याउन लागेको प्रभु लाइफ इन्स्योरेन्सको यस्तो छ वित्तीय अवस्था Read Previous

६० करोडको आइपीओ ल्याउन लागेको प्रभु लाइफ इन्स्योरेन्सको यस्तो छ वित्तीय अवस्था

पर्यटनका सबै क्षेत्र खोल्ने तयारी, मन्त्रिपरिषदमा प्रस्ताव लगिँदै Read Next

पर्यटनका सबै क्षेत्र खोल्ने तयारी, मन्त्रिपरिषदमा प्रस्ताव लगिँदै