काठमाडौं । नयाँ लाइसेन्स पाएका जीवन बीमा कम्पनीहरुले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । यसै क्रममा प्रभु लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन समेत दिइसकेको छ ।
हाल १ अर्ब ४० करोड चुक्ता पूँजी रहेको इन्स्योरेन्सले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको हो ।
नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफलाई ४ को रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत वित्तीय अवस्था औसत भन्दा कम रहेको संकेत गर्दछ ।
काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको प्रभु लाइफ सन् २०१७ देखि सञ्चालनमा आएको हो । कम्पनीको प्रमोटरमा बैंकहरु, मचेन्ट बैंकहरु, लगानी व्यवस्थापन कम्पनीहरु, बीमा कम्पनीहरु र केही व्यक्तिगत लगानीकर्ताहरु समेत रहेका छन् ।
समग्रमा कम्पनीमा ६० प्रतिशत होल्डिङ संस्थाहरुको छ भने बाँकी ४० प्रतिशत व्यक्तिगत लगानीकर्ताहरु रहेका छन् । अन्य ९ वटा कम्पनीहरू सहित प्रभु लाइफले पनि सन् २०१६/१७ मा लाइसेन्स पाएको थियो ।
अहिलेसम्म कम्पनीका १ सय हाराहारी शाखा कार्यालयहरु रहेका छन् भने झण्डै ७ हजार एजेन्टहरु समेत छन् । कम्पनीका करिब २० कर्पोरेट एजेन्टहरु समेत रहेका छन् । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ४० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १४ करोड ८९ लाख रुपैयाँ रहेको छ । यसैगरी कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा सोही कोषमा ३४ करोड १३ लाख रुपैयाँ रहेको थियो ।
गएको आर्थिक वर्षमा कम्पनीले ४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३ करोड ८१ लाख रुपैयाँ रहेको थियो । यो भनेको १६.५० प्रतिशतको बढोत्तरी हो ।
कम्पनीले गएको आर्थिक वर्षमा १ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्ष बीमा शुल्क ४५ करोड ३५ लाख रुपैयाँ मात्र थियो । यसले कम्पनीले १ वर्षमा व्यापक रुपमा व्यवसाय विस्तार गरेको देखाउँछ ।
कम्पनीले गएको आर्थिक वर्षमा ८० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । त्यो भन्दा अघिल्लो वर्ष दाबी भुक्तानी १७ लाख ५५ हजार रुपैयाँ मात्र थियो । हालसम्म कम्पनीको कुल बीमा लेख संख्या ९७ हजार ८७५ रहेको छ । अघिल्लो आर्थिक वर्षसम्म कुल बीमा लेख संख्या ३० हजार ७८३ थियो ।
कोरोना संक्रमणका वावजुद कम्पनीले राम्रो व्यवसाय विस्तार गरेको देखिएको छ । यस्तो प्रतिकूल अवस्थालाई चुनौतीका साथै अवसरको रुपमा समेत लिएर व्यवसायलाई अघि बढाउने रणनीति रहेको कम्पनीले जनाएको छ ।