काठमाडौ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गरेका मन्त्री श्रेष्ठले अब कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिएका हुन् ।
हाल फोहोर विर्सजन भइरहेको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उनले बञ्चरे ल्याण्डफिल साइटको निरीक्षण गरेका हुन् । पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिँदै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर विसर्जन गर्न मिल्नेगरी काम सक्न निर्देशन दिएका थिए ।
लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर विर्सजन गर्न मिल्नेगरी अन्तिम काम भइरहेको जनाएको छ । ‘ धेरै पटक भाका नाघेको छ । यो मंसिर १५ गतेबाट फोहोर विसर्जन गर्न मिल्नेगरी तयारी गर्नुस्,’ मन्त्री श्रेष्ठले भने ।
काठमाडौं र ललितपुर दुई महानगर सहित उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पोखरीको निर्माण भइहेको छ । ‘मंसिर १ गतेभित्र फोहोर फ्याक्ने गरी तयारी गरेका छौं,’ निर्माण कम्पनीका प्रतिनिधि न्यौपानेले भने ।
मन्त्री श्रेष्ठले उपत्यका र आसपासका नगरलाई सुन्दर बनाउन व्यवस्थित फोहोर व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै त्यसको लागि तत्काल बञ्चरे ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नुको विकल्प नभएको बताए । सरकारको महत्वपूर्ण आयोजनाको रुपमा रहेको सो ल्याण्डफिल साइटमा करिब सय वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्नेछ ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलालले फोहोर वर्गिकरण नगरी विसर्जन गर्दा २५ र वर्गिकरण गर्दा करिब सय वर्षसम्म ढुक्कसँग फोहोर व्यवस्थापन गर्न सकिने जानकारी दिए । सरकारले विभागलाई ल्याण्डफिल साइटमा आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्न जिम्मा दिएको थियो ।
महानिर्देशक गेलालले मंसिर १५ भित्र फोहोर व्यवस्थापन गर्न मिल्नेगरी अन्तिम तयारी भइररहेको बताए । ‘अहिलेसम्म ल्याण्डफिल जाने बाटोको निर्माण, डाडा काट्ने, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण, दुईवटा भवन निर्माण सम्पन्न भइसकेको छ,’ उनले भने ।
अब फोहोर विसर्जन गर्न स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युम पाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न मात्र बाकी रहेको छ । विभागले हालसम्म करिब ४० करोड रुपिया खर्च गरिसकेको छ । पहिलो चरणमा ३४ करोड ६८ लाख ७४ हजार र दोस्रो चरणको लागि ४६ करोड ५ लाख ९४ हजार रुपियाको ठेक्का सम्झौता गरिसकेको छ । पहिलो चरणको निर्माण सम्झौता बैशाख २२ सम्म थियो । लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिले निर्माण सम्पन्न गर्न नसकेपछि विभागले यही कातिक २२ गतेसम्म म्याद थपेको थियो ।
दोस्रो चरणको निर्माण ठेक्का कालिका कन्ट्रक्सनले पाएको थियो । सो कम्पनीले आगामी जेठ १९ भित्र सम्पन्न गर्ने सम्झौता गरेको छ । ठेकेदार कम्पनीले कोभिड–१९को स्वाथ्यजन्य समस्याको कारणले कामदार र निर्माण समाग्री आपुर्तिमा कठिनाई, सिसडोलमा फोहोरको पहिरो गई आगमन अबरुद्ध भएको र कोल्पुखोलामा वर्षातमा बाढी आएर निर्माणकार्यमा प्रभावित भएको जनाएको छ ।
१३ वर्षदेखि सिसडोल ल्याण्डफिल साइटको भ्याली १ र २ फोहोर विसर्ज भइरहेको थियो । दैनिक १ हजार १ सय मेट्रिक टन फोहोर विसर्जन हुने सिसडोल ल्याण्डफिल साइटमा काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक करिब ७ सय मेट्रिक टन फोहर विसर्जन भइरहेको छ ।
विसं २०६२ सालमा २ वर्षको लागि मात्रै फोहर व्यवस्थापन गर्न मिल्लेगरी मात्र सिसडोल ल्याण्डफिल साइट तयार गरेको थियो । लगत्तै दिर्घकालिन रुपमा फोहोर व्यवस्थापन बञ्चरेडाँडामा गर्न १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।
उपत्यकाको फोहोर व्यवस्थापन गर्न जापानिज सहयोग नियोग (जाइका)ले सन् २००२ मा सिसडोल ल्याण्डफिलसाइट हस्तान्तरण गरेपछि बञ्चरेडाँडा दिर्घकालीन ल्याण्डफिल साइटको कन्सेप्चुयल डिजाइन तयार गरी १ अर्ब ८६ करोड लाग्ने अनुमान गरेको थियो ।
जाइकाले सो ल्याण्डफिल साइट सन् २००९ सम्ममा सम्पन्न हुने जनाएको थियो । जाइकाले कन्सेप्चुयल डिजाइन तयार गरेको ११ वर्ष बितिसकेको छ । सरकारले २०६२ सालमै तीन वर्षभित्र बञ्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर ब्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । लगत्तै एकदशक अघि बञ्चरेडाँडाको ल्याण्डफिल साइटको जग्गा अधिग्रहण गरेको थियो ।