पर्यटनका सबै क्षेत्र खोल्ने तयारी, मन्त्रिपरिषदमा प्रस्ताव लगिँदै

काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड –१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित वेबिनार कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानाको विकल्प नभएको बताए। सरकारले कात्तिक १ गतेदेखि पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पर्यटक आगमन खुला गरेको थियो ।

 

मन्त्री भट्टराईले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्ने गरी मन्त्रालयले तयारी गरेको र यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने बताए। कोभिड महामारीका कारण कारण बन्द गरिएको अनराइभल भिसा सरकारले कात्तिक १ गते (अक्टोबर १७) देखि खुला गरिसकेको छ । पदयात्रा र पर्वतारोहण खुला भएसंँगै हालै बहराइनका राजकुमारसहितको टोली सफलतापूर्वक नेपालका हिमाल आरोहण गरी फर्किएको छ ।

 

यसले नेपाल कोरोनाकै बीच पनि सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने सन्देश गएको उल्लेख गर्दै मन्त्री भट्टराईले यसलाई उपयोग गर्दै पर्यटनका अन्य क्षेत्र पनि खोल्ने तयारी भएको बताए ।

 

पर्यटनमन्त्री भट्टराईले नेपालको पहिचान हिमालको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान दिनुपर्ने औंँल्याए । प्रदूषण र विश्वव्यापी तापमान वृद्धि हुँदा असर हिमाल तथा हिमतालमा पर्ने गरेको बताउँदै उनले तिनलाई जोगाउनु अहिलेको मुख्य चुनौती भएको बताए ।

 

एनएमएले ५ हजार ८०० मिटरभन्दा कम उचाइका २७ हिमाल आरोहणको व्यवस्थापन गर्दै आएको छ । नेपालमा ८ हजार ८४८ मिटर उचाइको सगरमाथादेखि विभिन्न उचाइका तीन हजार ३१० हिमाल छन् । तीमध्ये सरकारले हालसम्म ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ ।

कोरोनाले समस्यामा परेका व्यवसायीलाई नपेल्नु : गभर्नर अधिकारी Read Previous

कोरोनाले समस्यामा परेका व्यवसायीलाई नपेल्नु : गभर्नर अधिकारी

६६ करोडको आइपीओ ल्याउन लागेको ज्योति लाइफकोे कमाल, खुद नाफा ९२ प्रतिशतले वृद्धि Read Next

६६ करोडको आइपीओ ल्याउन लागेको ज्योति लाइफकोे कमाल, खुद नाफा ९२ प्रतिशतले वृद्धि