अस्पताल सहजै जान सक्ने अवस्था छैन, खाने र तास खेल्ने मात्र गर्नु भन्दा यी ठाउँहरुमा हाइकिङ पनि जाउँ

काठमाडौं । आज दशैंको नवौं दिन । विभिन्न क्रियाकलाप गरेर आज नवमी मनाइँदैछ । अष्टमी र नवमी अन्य क्रियाकलापका अलावा खानपानको लागि पनि चर्चित छन् । विशेषगरी खसीको मासु खाएर यी दिन मनाइन्छन् ।

 

वास्तवमा भन्ने हो भने रातो मासु स्वास्थ्यको दृष्टिकोणले धेरै लाभदायक पनि मानिँदैन । त्यसमाथी झन् मासु खाएर कुनै कसरत नगरी तास खेलेर बसेपछि त झन् स्वास्थ्यमा धेरै प्रतिकुल असर परिनैहाल्छ । त्यसैले दशैं लगत्तै अस्पतालमा धेरै बिरामीको चाप पर्ने गरेको विगतका वर्षहरुले पनि प्रमाणित गरिसकेका छन् ।

 

तर, यसपाली कोरोना महामारीको कारणले अस्पताल गएर जँचाउन उती सजिलो छैन । अस्पतालमा धेरै चाप छ । त्यसैले खानपीन गरिसकेपछि सुरक्षित ढंगले हिँड्ने वा हाइकिङ गर्ने गर्न सके यस्तो समस्याबाछ बच्न सकिन्छ । त्यसैले यहाँ काठमाडौं नजिकैका केही हाइकिङ जाने ठाउँहरु प्रस्तुत गरिएको छ ।

 

 

स्वीट्जरल्याण्ड पार्कः स्वीट्जरल्याण्ड पार्क पछिल्लो समय सबैको नजरमा पर्न थालेको छ । काठमाडौंबाट यो ठाउँ १२ किलोमिटरको दूरीमा रहेको छ ।

 

हाइकिङ जान चाहनेले कलंकी अथवा सितापाइलाबाट रामकोट हुँदै जान सक्नेछन् । हिँड्दै जाँदा ४/५ घण्टामा स्वीट्जरल्याण्ड पार्क पुग्नुका साथै, भ्यूटावर र कालु पाँडेको चिहानसम्म पुगेर आउन सकिने छ ।

 

धेरै हिँड्न नचाहानेहरु माथिसम्म गाडीमै भए पनि जान सक्ने छन् । यहाँबाट उपत्यकाको रमणीय दृश्य देखिनुका साथै विभिन्न हिमालहरु पनि अवलोकन गर्न सकिन्छ ।

 

ककनी हाइकः जंगलले भरिपूर्ण ककनी काठमाडौं नजिकै पर्छ । यो २५ किलोमिटर टाढा रहेको छ । न्यूनतम ५ घण्टाको यात्रामा ककनी हाइटसम्म पुग्न सकिन्छ । ककनी हाइट ६ हजार ५ सय ६० फिट उचाइमा छ । ककनी हाइटबाट काठमाडौं पूरै देख्न सकिन्छ । जंगलैजंगलले भरिएको ककनीमा तपाईंले स्वच्छ हावाका साथै रमणीय दृश्यको मजा लिन सक्नुहुने छ ।

 

ककनीबाट लाङटाङ हिमाली रेन्ज, अन्नपूर्ण रेन्ज, मनास्लुलगायत हिमालहरु देख्न सकिने छ ।

 

नगरकोट हाइकः नगरकोट हाइकिङ जान चाहानेहरुले साँखुबाट हाइकिङ सुरु गर्न सक्ने छन् । साँखुदेखि नगरकोटसम्म २८ किलोमिटरको दूरी रहेको छ । न्यूनतम ५ घण्टामा नगरकोट हाइटसम्म पुग्न सकिन्छ ।

 

नागरकोटबाट सूर्योदय र सूर्यास्थको रमणीय दृश्य देख्न पाइने छ । नगरकोट टावरबाट धौलागिरी, कन्चनजंगा, सगरमाथा, मनास्लु, गणेश हिमाल देख्न सकिन्छ ।

 

 

चम्पादेवी हाइकः चम्पादेवी हाइट काठमाडौंबाट २० किलोमिटर दूरीमा रहेको छ । यसको अन्तिम गन्तव्य फर्पिङ हो । काठमाडौंबाट फर्पिङसम्म ५ घण्टाको हिँडाइमा पुग्न सकिन्छ । यो ७ हजार ३ सय ८० फिटको उचाइमा रहेको छ । यहाँबाट लाङटाङ र अन्नपूर्ण हिमालका दृश्यहरु देख्न सकिन्छ ।

 

चिसापानी हाइकः चिसापानी हाइक सुन्दरीजलबाट सुरु गर्नुपर्छ । त्यहाँबाट चिसापानीसम्मको दूरी १३ किलोमिटरको छ । न्यूनतम ३ घण्टामा चिसापानीसम्म पुग्न सकिन्छ ।

 

चिसापानी ७ हजार २ सय ७० फिट उचाइमा रहेको छ । यहाँबाट चिसापानी गाउँ, शिवपुरी नेशनल पार्क, लाङटाङ, गणेश, जुगल, गौरिशंकर हिमालको रमणीय दृश्य समेत देख्न सकिन्छ ।

दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर Read Previous

दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर

७ वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति Read Next

७ वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति