दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर
चाणक्य पोष्ट
प्रकाशित : 11:57 am, आइतबार, कात्तिक ९, २०७७

काठमाडौं । नेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडि बढेको छ ।

 

आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दशैंको सबै दिन आयोजनाको काम निरन्तर रुपमा अगाडी बढ्ने जानकारी दिए । ‘दशैंका कारण काममा अवरोध छैन, काम निरन्तर भइरहेको छ,’ उनले भने। सिनो हाइड्रोले ठेक्का पाएर काम भइरहेको विद्युत्गृह निर्माणका लागि हाल चिनियाँ मजदूरले काम गरिरहेका छन् ।

 

सिनो हाइड्रोले परिचालन गरेका करीब २२० भन्दा बढी नेपाली मजदूरलाई दशैं बिदा दिइएपनि चिनियाँ मजदूरले काम गरिरहेको प्रमुख घिमिरेको भनाइ छ । ‘दशैं लगत्तै काममा फर्किने गरी नेपाली कामदारलाई दशैं मनाउन बिदा दिएका छौं, ५० जना चिनियाँ कामदारले दशैंको अवधिमा पनि काम गर्छन्,’ उनले भने, ‘एक जना भारतीय प्राविधिक पनि आइपुगेका छन्, दशैंको अवधिमा विद्युत्गृहमा एउटा उपकरण जडान गर्ने काम हुन्छ ।’

 

सिनो हाइड्रोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ र विद्युत्गृह निर्माण तथा हाइड्रो र इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि अगाडी बढेको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ ।

 

प्रशारण लाइनका लागि चालू आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेजअन्तर्गत कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम/कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेजअन्र्तगत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ ।

 

आयोजनाका लागि १४० मिटर बाँध, १ हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ । आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि १८४ मिलियन डलर बेहोर्ने छ । ।

Advertisement Section