दशैंमा घुम्न जाने हो, यी ठाउँमा जान यस्तो छ प्याकेज

काठमाडौं । देशमा करिब ७ महिनादेखि आन्तरिक तथा पर्यटकीय गतिविधि ठप्पप्रायः छ । कोरोनाका कारण लगाइएको लकडाउनका कारण बन्द रहेका बन्द रहेका पर्यटकीय गन्तव्यहरु अहिले भने क्रमशः खुल्दै गएका छन् ।

 

पछिल्लो समय नेपालीहरुमा क्रमशः घुमफिर गर्ने संस्कृति विकास हुँदै गएको थियो । कोरोनाले त्यसमा केही धक्का दिए पनि अहिले त्यसले पुनः गति लिन थालेको छ ।

 

सरकारले विदेशी पर्यटकको आवगमन खुल्ला गरिसकेको छ भने आन्तरिक पर्यटकहरु पनि घुमफिरमा निस्कन थालेका छन् । कोरोनाका कारण दशैंमा निष्फिक्री घुम्न जाने अवस्था नरहे पनि न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै घुम्न जान सकिन्छ ।

 

यस वर्ष दशैंमा देशका मुख्य पर्यटकीय गन्तव्यहरु मना, मुस्तान, तिलिचो, घान्द्रुक, अन्नपूर्ण लगायत केही क्षेत्रमा पर्यटकीय गतिविधि बन्द रहने जनाइएको छ भने पोखरा, चितवन, लुम्बिनी लगायत केही पर्यटकीय गन्तव्यहरु खुला नै रहेका छन् ।

 

यसैक्रममा आन्तरिक पर्यटनलाई चलायमान बनाउन दशैंलाई लक्षित गर्दै ट्राभल एजेन्सीहरुले विभिन्न भ्रमण प्याकेज ल्याउन थालेका छन् । यस वर्ष कोरोनका कारण मानिसहरु घुमफिरमा त्यतिधेरै निस्कने सम्भावना नरहे पनि ट्राभल एजेन्सीहरुले सस्तो र आकर्षक प्याकेज ल्याएर पर्यटन क्षेत्र चलायमान बनाउने कोशिस गरेका छन् ।

 

विगत केही समयदेखि दशैँमा टिका लगाएर सपरिवार घुम्न जानेहरुको ट्रेन्ड बढ्दो क्रममा रहेको छ । मानिसहरुको बदलिदो ट्रेन्डसँगै विभिन्न ट्रेकिङ तथा ट्राभल एजेन्सीहरुले दशैँ प्याकेजहरु ल्याउने गरेका छन् ।

 

ट्रेकिङ एजेन्सीका अध्यक्ष खुम सुवेदीका अनुसार यो पटक काठमाडौं, पोखरा, लुम्बिनी, चितवनका लागि प्याकेजहरु ल्याइएको छ ।

 

उनले विगतको तुलनामा प्याकेजको मूल्य केही कम गरिएको बताए । धेरै संख्यामा जान चाहानेहरुका लागि अझै सक्तो पर्न जाने उनले बताए । ‘यो पटक पनि प्याकेज त ल्याएका छौँ, दशैँसँगै घुम्घाम गर्नेको संख्या बढ्छ भन्ने आश गरेका छौँ,’ सुवेदिले चाणक्य पोष्टसँग भने ‘हामीले प्याकेजमा विगतको भन्दा केही छुट पनि गरेका छौँ ।’

 

काठमाडौं-पोखरा-लुम्बीनी-चितवनमा ४ रात ५ दिनको ट्राभल प्याकेज र काठमाडौं पोखरामा २ रात ३ दिनको ट्राभल प्याकेज राखिएको उनले जानकारी दिए । काठमाडौं-पोखरा-लुम्बिनी-चितवनका ४ रात ५ दिन घुम्नका लागि १५ हजारदेखि २० हजार रुपैयाँसम्म सेवा सुविधका अनुसार मूल्य लाग्ने सुवेदीले बताए ।

 

काठमाडौं-पोखरा २ रात ३ दिनका लागि १० देखि १२ हजार रुपैयाँ लाग्ने उनले बताए । रारा घुम्न ४ रात ५ दिनका लागि गाडीमा जान २० हजार देखि २२ हजार रुपैयाँ प्रतिव्यक्ति मूल्य लाग्ने छ । रारा जानका लागि अनिवार्य पीसीआर गर्नुपर्ने सुवेदीले बताए । हवाई जहाजबाट रारा जानेहरुलाई २० हजारदेखि ३० हजार रुपैयाँसम्म प्रतिव्यक्ति खर्च लाग्ने जनाइएको छ ।

 

लम्जुङको घलेगाउँ घुम्न जानेलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँमा २ दिनका खानासहितको प्याकेज छ । घलेगाउँ जान चाहानेले भेज, नन्भेज अनुसार फरक मूल्य तिर्नु पर्ने हुन्छ । न्यूनतम ११ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्मको प्याकेज रहेको छ ।

होटल र सवारीसाधन अनुसार मूल्य फरक पर्ने उनी बताउँछन् । साधारण होटलदेखि ५ तारेहोटलसम्मको सुविधा हुने भएकाले मूल्यमा फरक पर्ने उनको भनाइ छ । उनले समूहका आधारमा प्याकेजको मूल्य फरक पर्ने बताए । ‘कति समूह जानेको हो त्यही अनुसार मूल्य हुन्छ, होटल र प्राप्त गर्ने सुविधा अनुसार सबै प्याकेजमा फरक–फरक मूल्य पर्छ,’ सुवेदीले भने ।

 

घुम्न जानेको संख्या र सुविधा अनुसार ट्राभरल प्याकेजको न्यूनतम मूल्य १२ हजार रुपैयाँ देखि ३० हजार रुपैयाँसम्म पर्ने उनले बताए । २ देखि १६ जनाको समूहमा ट्राभल गर्नेहरुको सेवा सुविधा अनुसार २५ देखि ३० हजार रुपैयाँ खर्च लाग्न सक्ने छ । १६ जना भन्दा बढी २०/३० जनाको समूहमा ट्रभलका लागि १२ देखि १३ हजार रुपैयाँसम्मको ट्राभल प्याकेज रहेको उनले बताए ।

 

विगतमा यी स्थानहरु घुम्नका लागि ४५ हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको उनले बताए । यो पटक दशैँ भएकाले टिका लगत्तै घुम्न जान चाहानेहरुका लागि यो राम्रो अवसर रहेको उनले बताए ।

 

‘विगतका समयमा भन्दा यो पटक धेरै सस्तोमा प्याकेज ल्याएका छौँ, घुम्न जान चाहानेहरुका लागि यो राम्रो अफर हो,’ सुवेदीले भने ।यो प्याकेज अफर ३ महिनासम्मका लागि रहने उनले जानकारी दिए ।

ललितपुर महानगरपालिकाले सडकमा रातो पोत्ने Read Previous

ललितपुर महानगरपालिकाले सडकमा रातो पोत्ने

दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर Read Next

दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर