काठमाडौं । कोरोका बाबजूद सिटिजन्स बैंक इन्टरनेशनले खुद नाफा आर्जनमा छलाङ मारेको छ ।
शुक्रबार सार्वजनिक चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विरण अनुसार बैकले खुल नाफा ४७.६६ प्रतिशतले बढाएको छ । असोज मसान्तसम्ममा बैंकले ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १६ करोड ६४ लाख २२ हजार रुपैयाँ बढी हो।
सिटिजन्स बैंक चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक समेत बनेको छ । कोरोनाका बीच कर्जा खुद ब्याज आम्दानी बढेसँगै बैंकको नाफा पनि बढेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३ करोड ८ लाख ४७ हजार रुपैयाँ बढेर ८३ करोड ९१ लाख ७२ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २४ करोड ३८ लाख ६२ हजार रुपैयाँ बढेर ७३ करोड ३० लाख ७५ हजार रुपैयाँ पुगेको छ।
हाल ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ९० करोड ५९ लाख रुपैयाँ र सेयर प्रिमियममा ९४ करोड ३७ लाख २३ हजार रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा बैंकले ९७ अर्ब ९४ करोड ६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८२ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ९२ लाख ७४ हजार रुपैयाँ रहेको छ।
खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ। गत आवको असोज मसान्तसम्ममा १६.२० रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी चालू आवको सोही अवधिमा ६.४९ पैसा बढेर २२.६९ रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १५३.४० रुपैयाँ, मूल्य आम्दानी अनुपात ९.४८ गुणा रहेको छ ।
यस्तै, बैंकको सीसीडी रेसियो ७३.५० प्रतिशत, बेस रेट ८.८१ प्रतिशत, स्प्रेड रेट ४.४० प्रतिशत रहेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा भने बढेको छ । गत आवको पहिलो त्रैमासमा ०.९८ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर १.४३ प्रतिशत पुगेको छ।