काठमाडौं । दशैं लागेसँगै खसीबोकाको व्यापार फस्टाएको छ । सामान्य अवस्थामा भन्दा दशैंमा मासुको खपत धेरै हुने भएकाले खसीबोकाको कारोबार ह्वात्तै बढेको हो ।
कोरोनाका कारण विगतका वर्षहरुको जस्तै सामान्य अवस्था नरहे पनि खसीबोका, च्याङ्ग्राको व्यापार भने खासै नघटेको व्यापारीहरु बताउँछन् । उपत्यकामा व्यापारीहरुले गत वर्षको भन्द कम खसीबोका ल्याएकाले ती सबै बिक्ने उनीहरुको भनाइ छ ।
अहिले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले र निजी क्षेत्र व्यापारीहरुले उपत्यकाका कलंकी, टुकुचा, भक्तपुरको सल्लाघारी लगायत स्थानबाट खसीबोका विक्री शुरु गरिसकेका छन् ।
खाद्य कम्पनीले विक्रीका लागि ल्याएका ६०० खसीबोका सोमबार एकै दिनमा बिकेका छन् । कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीका अनुसार खाद्यले सामबारदेखि खसीबोका विक्री शुरु गरेको र सबै खसी एकदिनमा सकिएका छन् ।
खाद्यले बजार मूल्यभन्दा प्रतिकिलो १०० रुपैयाँ सस्तोमा खसीबोका बेच्ने भएकाले उपभोक्ताको भीड लागेको उनले बताइन् । ‘हामीले यस वर्ष गतवर्षको भन्दा निकै कम खसीबोका ल्याएका थियौं । खसीको भाउ बजार मूल्यभन्दा प्रतिकिलो १०० कम तोकेका छौं,’ उनले भनिन्, ‘बजार मूल्यभन्दा सस्तोमै खसीबोका दिएकाले ल्याएका खसी एकै दिनमा सकिएका हुन् ।’
खाद्यले सोमबारदेखि थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट कम्पनीले जिउँदो खसीबोका प्रतिकेजी ५५० रुपियाँमा विक्री शुरु गरेको थियो । बजारमा जिउँदो खसीबोका प्रतिकेजी ६०० देखि ६५० रुपियाँ पर्ने भएपछि खाद्य कम्पनीले ५५० रुपियाँमा विक्री गरेको छ ।
कम्पनीका सूचना अधिकारी सुवेदीले ल्याइएका खसीबोका सबै विक्री भइसके पनि अझै किन्नलाई उपभोक्ता आइरहेकाले बताइन् । पहिलो चरणमा ल्याइने १ हजार खसीबोका मध्ये सबै आइनसकेकाले उपभोक्ताले अझै सखीबोका किन्न पाउने उनले जानकारी दिइन् । दाङ र मकवापुबाट खरिद गरिएकामध्ये ४०० बढी खसीबोका सम्भवतः आजसम्म आइपुग्ने उनको भनाइ छ । उपभोक्ताको माग बढै थप खसीबोका ल्याउने तयारी समेत रहेको जनाइएको छ ।
खाद्यले यसवर्ष पहिलो चरणमा दाङबाट २०० र मकवानपुरबाट ४०० गरी ६०० खसीबोका काठमाडौँ ल्याएको थियो । पहिलो चरणमा कम्पनीले विक्री गर्ने एक हजार खसीबोकामध्ये दाङबाट ल्याउनुपर्ने ६०० मध्ये २०० आइसकेको र बाँकी ४०० भोलिसम्म आइपुग्ने कम्पनीले जनाएको छ ।