काठमाडौं । पछिल्लो समय बैंकहरुमा कर्जाको माग ह्वात्तै बढेको छ । कोरोनाका कारण करिब ६ महिनासम्म कर्जाको माग हुन नसके पनि पछिल्लो हप्ता भने बैंकहरुले ठूलो मात्रमा कर्जा प्रवाह गरेका छन् ।
अहिले लकडाउन हटेका कारण उद्योग, कलकारखाना पूर्ण क्षमतामा सञ्चालन हुन थालेसँगै कर्जाको माग ह्वात्तै बढेको हो । साथै दशैं लागेसँगै व्यापार व्यवसायले पनि गति लिँदा कर्जाको माग बढ्दै गएको हो ।
पछिल्लो समय सवारी, कर्पोरेट, घरजग्गा लगायत क्षेत्रमा कर्जाको माग बढेको बैंकरहरु बताउँछन् । लकडाउनका कारण कर्जा नै प्रवाह गर्न नसकेका बैंकहरुले पछिल्लो एक सातामै भने ७० अर्ब ऋण लगानी गरेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार असोज अन्तिम सातामा मात्रै वाणिज्य बैंकहरुले ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो पछिल्लो ६ महिनाको अवधिमाएक हप्तामै लगानी भएको सबैभन्दा धेरै कर्जा रकम हो ।
चालू आर्थिक वर्षको असोज महिनामा बैंकहरुले १ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३० अर्ब कर्जा रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
लकडाउन र निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प हुँदा बैंकहरुले कर्जा लगानी गर्न सकेका थिएनन् । भदौ महिनामा बैंकहरुले २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो अवधिमा बैंकहरुमा १६ अर्ब निक्षेप थपिएको थियो ।
साउन मसान्तसम्म बैंकहरुले २८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिसम्म बैंकहरुमा ३४ खर्ब ७९ अर्ब निक्षेप रहेको थियो ।
असोज अन्तिसम्ममा बैंकहरुको कर्जा प्रवाह बढेर ३० खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ भने निक्षेप ३६ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ ।