धौवादीको फलाम उच्च गुणस्तरको, सरकारले थाल्यो उत्खननको तयारी

काठमाडौं । सरकारले महत्वका साथ अगाडि बढाएको नवलपरासीको धौवादी फलाम खानीमा रहेको धाउको चीनको छेन्दुमा सफलतापूर्वक परीक्षण गरिएको छ । खानीमा रहेको धाउ उच्चगुणस्तरको रहेको पाइएको छ ।

 

मन्त्रालयले गत पुसमा नै पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड गठन गरिसकेको छ । खानी तथा भूगर्भ विभागको कार्यालयमा नै उक्त कम्पनी रहेको छ । चालू आर्थिक वर्षको बजेटमा समेत सो खानी उत्खनन गरी उद्योग स्थापना गर्ने विषय समेटिएको छ ।

 

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ को धौवादी डाँडामा फलाम खानी रहेको छ । फलाम खानीको विषयमा आवश्यक अध्ययन तथा त्यहाँको धाउ गुणस्तरीय रहेपछि देशको आवश्यकताअनुसार फलाम उत्पादन गर्ने सरकारको तयारी छ । धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा मन्त्रालयले चीनको सिचुआन इन्स्टिच्युट अफ मेटालजिकल जिओलजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाएको थियो ।

 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सार्वजनिक गरेको आफ्नो १० महिने कार्यकालको उपलब्धिमा फलाम खानी तथा परीक्षण सम्पन्न भएको जानकारी दिए ।

 

धौवादीमा १० किलोमिटर लामो फलाम खानी भेटिएको मन्त्रालयको भनाइ छ । तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशी पनि खानीस्थलको निरीक्षण गरी सडक निमार्णका आवश्यक बजेट उपलब्ध गराएका थिए ।

 

पूर्व पश्चिम महेन्द्र राजमार्गको डण्डा बजारबाट २४ किलोमिटर उत्तरमा फलाम खानी रहेको छ । परीक्षणको सम्पूर्ण रिपोर्ट आइसकेको जानकारी दिँदै मन्त्री भट्टले सार्वजनिक गरेको विवरणमा अब थप प्रक्रिया अगाडि बढाइने उल्लेख गरे ।

 

यस्तै मन्त्रालयले पर्वतको फलामखानी र तनहुँको तामा खानीको पनि अध्ययन गरिरहेको छ । यसैगरी दैलेखमा रहेको पेट्रोल खानीको समेत अन्वेषणको प्रारम्भिक कार्य सम्पन्न भएको छ । सो अध्ययनबाट पेट्रोलियम पदार्थको भण्डारको सम्भावना देखिएको छ ।

 

मन्त्रालयले थप १२ वटा खानी उद्योग सञ्चालनको अनुमति प्रदान गरेको छ । त्यस्ता उद्योगमा सुन, तामा, कोइला, ग्रेनाइट र चुनढुङ्गा रहेका छन् । आर्थिक समृद्धिका लागि खानी तथा खानीजन्य उद्योग स्थापनामा जोड दिएको सरकारले देशभित्र रहेका थप खानीको समेत अध्ययन गरिरहेको छ ।

जय महाकाल युवा समूहद्धारा सडक मजदूरलाई खाना तथा कपडा वितरण Read Previous

जय महाकाल युवा समूहद्धारा सडक मजदूरलाई खाना तथा कपडा वितरण

फास्ट ट्रयाकसँग मदन भण्डारी मार्ग जोडिने, सम्भावित बिन्दुको खोजी शुरु Read Next

फास्ट ट्रयाकसँग मदन भण्डारी मार्ग जोडिने, सम्भावित बिन्दुको खोजी शुरु