फास्ट ट्रयाकसँग मदन भण्डारी मार्ग जोडिने, सम्भावित बिन्दुको खोजी शुरु

निर्माणधीन फास्टट्रयाक

काठमाडौं । निजगढ–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) सँग हेटौँडा–काठमाडौं मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ ।

 

वाग्मती प्रदेश सरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो ।

 

सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि सम्भावित बिन्दुको खोजी शुरु गरेको छ । सङ्घीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाडौँ–निजगढ द्रतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवार गाउँपालिका–३ को कोगटेदोभानमा जोड्न सके हेटौँडा–काठमाडौँको सडक दूरी ५४ किलोमिटरमा छोटिने भन्दै प्रदेश सरकारले प्रस्ताव गरेको थियो ।

 

प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ । सरकारका तर्फबाट एक दिनअघि मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित विन्दुको अवलोकन गरेका थिए ।

 

अवलोकनपछि उपाध्यक्ष कँडेलले द्रुतमार्गको प्रारम्भमा यसमार्गसँग जोडिने अन्य कुनै मार्गको परिकल्पना नगरिएकाले नयाँ परिस्थिति सिर्जना भएको बताए। उनले द्रुतमार्ग अनुगमन समितिले द्रुतमार्ग निर्माणको क्रममा प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको बताए। समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै आफूहरु अवलोकन र अध्ययनका लागि आएको उनको भनाइ थियो ।

 

पहिलो चरणमा व्यवहारिक र सामान्य अवलोकन गरिएको उल्लेख गर्दै उपाध्यक्ष कँडेलले अब प्राविधिक अध्ययन गरेर मात्रै द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई कहाँ र कसरी जोड्न सकिन्छ टुङ्गो लाग्ने बताए। उनले दुई द्रुतमार्गलाई जोड्नु उपयुक्त हुने र त्यसका लागि प्राविधिकहरुको अध्ययनले अन्तिम निष्कर्ष निकाल्ने उल्लेख गरे।

 

हाल पूर्वी नेपाल र तराईका साना सवारीबाहेकका सवारी साधन हेटौँडाबाट ७६ किलोमिटर नारायणघाट र त्यहाँबाट १५२ किलोमिटर काठमाडौँ गरी २२८ किलोमिटर लामो यात्रा गर्न बाध्य रहेको उनको भनाइ छ । ५४ किलोमिटरको बाटो स्तरीकरण गरी सबै प्रकारका सवारी साधनको आवागमन गराउन सकिने र दीर्घकालीनरूपमा राज्यलाई लाभ हुने उनी बताउँछन् ।

 

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल सुरुङबाहेक मदन भण्डारी मार्गको स्तरीकरणको सम्पूर्ण काम धमाधम भइरहेको बताउँछन् । सडक फराकिलो बनाउने, पर्खाल लगाउने र सम्याउने काम भइरहेको र चाँडै नै कालोपत्रको काम शुरु हुने उनको भनाइ छ ।

धौवादीको फलाम उच्च गुणस्तरको, सरकारले थाल्यो उत्खननको तयारी Read Previous

धौवादीको फलाम उच्च गुणस्तरको, सरकारले थाल्यो उत्खननको तयारी

सिभिल लघुवित्तको ८९ हजार कित्ता सेयर १०० रुपैयाँमै किन्ने आज अन्तिम दिन Read Next

सिभिल लघुवित्तको ८९ हजार कित्ता सेयर १०० रुपैयाँमै किन्ने आज अन्तिम दिन