काठमाडौं । नेपाल प्रहरीमा एकैपटक ठूलो संख्यामा दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले ५ हजार २२७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको हो।
जसमध्ये खुलातर्फ २ हजार ८१७ कोटा छ। अरू समावेशीतर्फ छ।समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि ७३७ वटा कोटा छ। महिलातर्फ ४४१ जना मागेको छ।
शुक्रबार प्रकाशित सूचनाअनुासर खुला, अशक्त प्रहरी परिवार र समावेशीअन्तर्गत प्रतिस्पर्धा गराई जवान छनोट गरिनेछ।
यसमा भर्ना हुन न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ। उचाइ पुरूषका हकमा घटीमा पनि पाँच फिट दुई इन्च र तौत ५० केजी हुनुपर्नेछ।यस्तै महिलाका हकमा पाँच फिट र तौत ४२ केजी हुनुपर्नेछ।
१८ वर्ष पूरा भई २३ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं प्रशासन विभाग भर्ना छनौट महाशाखा नक्सालले जनाएको छ।
प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले जनाएको छ।
देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर) मा दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
