कोभिड–१९ को रोकथामको लागि देशहरुले बन्दाबन्दी, सामाजिक दूरी, मास्क र स्यानिटाइजरको प्रयोगजस्ता उपाय अपनाए पनि कोभिड–१९ को संक्रमणको ग्राफ उकालो लागिरहेको छ ।
यो भाइरसको संक्रमणका कारण मृत्यु भएकाको संख्या समेत बढ्दो छ । विश्व अर्थतन्त्रमा देखिएको मन्दीका कारण यो वर्ष विश्वको आर्थिक गतिविधि ४.४ प्रतिशतले खस्कने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ ।
विश्व स्वास्थ्य संगठनले २ अक्टोबर २०२० मा तयार पारेको सामग्रीका अनुसार ४२ कम्पनी क्लिनिकल ट्रायल अर्थात् मानव परीक्षणको तहमा प्रवेश गरेका छन् । त्यसैगरी १५१ कम्पनी प्री–क्लिनिकल ट्रायल अन्तर्गत जनावरहरुमा अनुसन्धान गरिरहेका छन् ।
आउँदो हिउँदमा बढ्दो चिसोसँगै स्थिति झन् भयावह बन्नसक्ने चेतावनी विज्ञहरुले दिएका छन् । कोभिड–१९ को रोकथाम र यसले सृजना गर्ने थप संकट रोक्नका लागि विश्वका अनुसन्धानकर्ता र वैज्ञानिकहरुले कोभिड–१९ को खोप पहिचान, परीक्षण, विकास र वितरणको कामका लागि तीव्र्र गतिमा प्रयास गरेका छन् । कोभिड–१९ को खोपको जारी परीक्षण प्रक्रिया, पछिल्लो अवस्था र नेपालले गरेका प्रयासको बारेमा जानकारीमूलक सामग्री तयार पारिएको छ ।
खोपको परीक्षण प्रक्रिया कसरी अघि बढिरहेको छ ?
सामान्यतः खोप परीक्षणको प्रक्रिया लामो हुन्छ । वर्षौं लगाएर खोपको परीक्षण गरिन्छ । त्यसको उत्पादनमा थप समय लाग्छ । तर कोभिड–१९ को खोप १२ देखि १८ महिनासम्ममा ल्याउने लक्ष्य सहित वैज्ञानिकहरु खटिरहेका छन् ।
कोभिड–१९ विरूद्धको खोप परीक्षणले पाँचवटा चरण पूरा गरेपछि मात्र त्यो सर्वसाधारणका लागि उपलब्ध हुनेछ । सबैभन्दा पहिले खोपलाई जनावरमा परीक्षण गरिन्छ ।
त्यसपछि खोप सामान्यतः तीन चरणमा मानिसमाथि परीक्षण गरिन्छ । मानिसहरूमा गरिने ती परीक्षणमा त्यसको सुरक्षा र प्रभावकारिता जाँचिन्छ ।
पहिलो चरणमा त्यो कत्तिको सुरक्षित छ भनेर परीक्षण गरिन्छ । यो परीक्षण स्वस्थ स्वयंसेवकको सानो समूहमाथि गरिन्छ । यसमा विभिन्न डोजको खोप तिनलाई दिएर शरीरको प्रतिरोधी क्षमता जाँचिन्छ ।
दोस्रो चरणमा सयौँ स्वयंसेवकमा परीक्षण गरिन्छ । यसबाट खोपले लक्षित मानिसमा कत्तिको काम गर्छ भन्ने जानकारी मिल्छ । तेस्रो चरणमा हजारौं स्वयंसेवकमाथि यसको परीक्षण गरिन्छ ।
यो चरणमा सम्बन्धित भाइरस संक्रमणको जोखिममा रहेका मानिसमा परिक्षण गरिन्छ । यस परीक्षणबाट उक्त भाइरसबाट कति मानिस संक्रमित हुन्छन् भन्ने थाहा पाउन सकिन्छ ।
प्रारम्भिक स्वीकृतिमा तेस्रो चरणको परीक्षणको नतिजा आउनु अघि दिइन्छ। चीन र रूसले तेस्रो चरणको परीक्षणको नतिजा आउनु अघि नै सीमित संख्यामा स्वीकृति दिएका थिए । अनुसन्धान कर्ताको भनाइमा यो प्रक्रिया जोखिमपूर्ण छ ।
यस चरणमा नियामक निकायले परिक्षणको नतिजा समीक्षा गर्छन् र स्वीकृति प्रदान गर्छन् । तर मानवजातिलाई छिट्टै कोभिड–१९ खोप चाहिएकोले अहिले नियामक निकायले आपतकालीन स्वीकृति मात्र दिने जनाइएको छ । अनुमति पाएपछि अनुसन्धानकर्ताहरुले खोप कति सुरक्षित वा प्रभावित हुन्छ भनेर अन्तिम परीक्षण गर्छन् ।
खोप परीक्षणको पछिल्लो अवस्था के छ ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २ अक्टोबर २०२० मा तयार पारेको सामग्रीका अनुसार ४२ कम्पनी क्लिनिकल ट्रायल अर्थात् मानव परीक्षणको तहमा प्रवेश गरेका छन् । त्यसैगरी १५१ कम्पनी प्री–क्लिनिकल ट्रायल अन्तर्गत जनावरहरुमा अनुसन्धान गरिरहेका छन् ।
नेपाल सरकारले कोभिड–१९ को खोप ल्याउने कुरामा आफै सक्रियता जनाएको देखिँदैन। बरु यसले आफू जोडिने त्यस्ता विषयमा प्रतिक्रियाहरू जनाइरहेको पाइन्छ । कोरोना भाइरसविरुद्धको खोप दुई तरिकाबाट नेपाल आउने सम्भावना छ ।
क्लिनिकल ट्रायल अन्तर्गत १० वटा कम्पनी तेस्रो चरणमा पुगेको डब्लुएचओको उक्त विवरणमा उल्लेख छ । सिनोभ्याक, वूहान इन्स्टीच्युट अफ बायोलोजिकल प्रोडक्सरसिनोफार्म, बेइजिङ इन्स्टीच्युट अफ बायोलोजिकल प्रोडक्ट, एस्ट्राजेनेकारअक्सफोर्ड विश्वविद्यालय, क्यानसिनो बायोलोजिकल इन्करबेइजिङ इन्स्टीच्युट अफ बायोटेक्नोलोजी, गमलेया रिसर्च इन्स्टीच्युट, जोन्सन एण्ड जोन्सन, नोभाभ्याक्स, मोडर्ना र फाइजर रहेका छन् ।
कोभ्याक्स के हो ?
कोभ्याक्स अभियानमा विश्व स्वास्थ्य संगठन, गाभी द भ्याक्सिन अलायन्स र द कोलिसन फर एपिडेमिक प्रिप्यर्डनेस एण्ड इनोभेसन्स लगायत संस्थाहरु छन् । १७२ राष्ट्र जोडिएको यस अभियानको उद्देश्य कोभिड–१९ को खोप बनाउने मद्दत गर्नुका साथै खोप विकसित र विकासोन्मुख राष्ट्रका मानिसलाई सहज रुपमा उपलब्ध गराउनु रहेको छ ।
कोभ्याक्सले सन् २०२१ को अन्त्यसम्ममा विभिन्न मुलुकमा २ अर्ब डोज खोप वितरण गर्ने उद्देश्य राखेको छ ।
कोभिड–१९ खोप कहिले आउला त नेपाल ?
नेपाल सरकारले कोभिड–१९ को खोप ल्याउने कुरामा आफै सक्रियता जनाएको देखिँदैन। बरु यसले आफू जोडिने त्यस्ता विषयमा प्रतिक्रियाहरू जनाइरहेको पाइन्छ । कोरोना भाइरसविरुद्धको खोप दुई तरिकाबाट नेपाल आउने सम्भावना छ ।
पहिलो ‘कोभ्याक्स’ अन्तर्गत नेपालमा खोप भित्रिनेछ । कोभ्याक्स अन्तर्गत आएको खोप सन् २०२१ सम्ममा नेपालको कुल जनसंख्याको २० प्रतिशतले पाउनेछन् । र, दोस्रो प्रक्रिया अन्तर्गत निजी औषधि कम्पनीले पनि खरिद गर्न सक्नेछन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले साउथ एसिया चेकलाई ‘कोभिड भ्याक्सिनको बारेमा कुरा गर्दा अहिले कुरामात्रै हुने’ बताए ।
‘अहिले कुनै कम्पनीहरु नआएको अवस्था र परीक्षण मात्रै गर्ने हो कि खोप वितरण पनि गर्ने हो भन्ने छलफल भइरहेको छ,’ डा ज्ञवालीले भने ।
‘नेपालको कोभ्याक्स अभियानमा जोडिएको छ । त्यसबाट नियमित भ्याक्सिनेसन त हुन्छ । हामीले विश्व स्वास्थ्य संगठनले अनुमति दिएको कुनै औषधि कम्पनीले क्लिनिकल ट्रायल गर्न चाहेमा नेपाल इच्छुक रहेको बताएका छौँ । तर अहिलेसम्म मूर्तरूपमा कुनै प्रस्ताव आइसकेको छैन ।’
भाइरोलोजिष्ट डा. लुना भट्टले नेपालले खोप स्वीकृत गर्नु अघि ती खोप बनाउँदाको प्रक्रिया पारदर्शी छ र छैन हेर्नुपर्ने बताउँछिन् ।‘रूसले निर्माण गरेको स्पुतनिक–भी को प्रक्रिया पारदर्शी देखिँदैन । उनीहरुले ल्याबमा भएको कुरा र परीक्षणको प्रक्रियाको तथ्यांक सार्वजनिक गरेका छैनन् । चीनले निर्माण गरेको भ्याक्सिनमा पनि त्यो देखिन्छ,’ भाइरोलोजिस्ट डा भट्टले भनिन् ।
अक्सफोर्ड विश्वविद्यालयले गरेको अनुसन्धानबारे उनीहरुको वेबसाइटमा सूचना राखिएको छ ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड खोपको तेस्रो चरणमा रहेको भ्याक्सिन जुन देशले उत्पादन गरेको हो त्यहाँ पनि परीक्षण गरेको प्रमाण हेरेर निर्णय लिन स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुमति दिइसकेको साउथ एसिया चेकलाई बताए ।‘तेस्रो चरणभन्दा अगाडिको भ्याक्सिनलाई हामी अनुमति दिदैनौं,’ सहप्रवक्ता अधिकारीले भने ।
कोभिड–१९ विरुद्ध चीनमा तेस्रो चरणमा परीक्षणमा रहेको खोप नेपालमा पनि परीक्षण गर्न अनुमतिका लागि परराष्ट्र मन्त्रालयमार्फत् स्वास्थ्य मन्त्रालयमा औपचारिक प्रस्ताव आएको सहप्रवक्ता अधिकारीले बताए ।
‘अन्य प्रस्ताव अनौपचारिक रुपमा आएपनि औपचारिक रुपमा आएका छैनन् । अलि अगाडि कम्पनीहरुले इच्छा देखाएकाले हामीले स्वास्थ्य अनुसन्धान परिषद्लाई मापदण्ड बनाउन अनुमति दिएका छौँ,’ उनले भने, ‘राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले सबै हेरेर हुन्छ भनेपछि मात्रै मन्त्रालयले प्रक्रिया अगाडि बढाउँछ ।’
‘अथवा अन्तर्राष्ट्रिय रुपमा खोप प्रयोग भयो र विश्व स्वास्थ्य संगठनले प्रयोग गर्ने अनुमति दिएपछि त्यसरी सुरु गर्ने हो । तर अहिले दुईवटै अवस्था सुरु भएको छैन,’ डा अधिकारीले भने ।साउथ एसिया चेकबाट