काठमाडौं । अब कोरोना बीमा गरेका व्यक्तिको उपचार खर्च बीमा रकमबाटै कटाइने भएको छ । बीमा गरेका व्यक्ति संक्रमित भए उनीहरुको उपचार गर्दा लागेको खर्च सरकारले बीमा रकमबाट कटाउने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना प्रयोगशाला परीक्षण निर्देशकाको पाँचौँ पटक परिमार्जन गर्दै बीमा गरेका व्यक्तिको परिक्षण शुल्क बीमा रकमबाट कटिने व्यवस्था गरिएको जानकारी दिए।
कोरोना भाइरस संक्रमणको परीक्षणदेखि उपचारसम्म सरकारले नै निःशुल्क गरिरहेको भए पनि अबदेखि भने कोरोना बीमा रकमबाट उपचार खर्च कटाउन लागिएको हो ।
उनका अनुसार सरकारको निशुल्क परीक्षण र उपचारको मापदण्डमा परेका कुनै पनि व्यक्तिले कोरोना बीमा गरेको भए परीक्षण र उपचार खर्च बीमा रकमबाट नै व्यहोर्नेछ ।
विपन्न, अशक्त, असहाय, एकल महिला, अपाङ्ग ,ज्येष्ठ नागरिक, फ्रन्टलाइनमा खटिने स्वास्थयकर्मी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको मात्र कोरोना संक्रमण परीक्षण र उपचार सरकारले निःशुल्क गर्नेछ ।
साथै, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र जोखिम क्षेत्रमा कार्यरतमा कर्मचारीमा लक्षण देखिए मात्रै निःशुल्क परीक्षण गर्ने भएको छ ।