काठमाडौं । यो दशैँमा च्याङ्ग्राको मूल्य निकै आकाशिने भएको छ । यो पटक चीनबाट च्याङ्ग्रा आयात हुन नसकेपछि काठमाडौंमा खसीबोका सहित च्याङ्ग्राको समेत मूल्य बढ्ने भएको हो ।
यो वर्ष दशैँमा च्याङ्ग्राको मूल्य प्रतिकेजी ९०० रुपैयाँ पुग्ने अनुमान गरिएको छ । गत वर्ष प्रतिकिलो ६५० देखि ७०० रुपैयाँ रहेको च्याङ्ग्राको मूल्य यो वर्ष ९०० रुपैयाँ पुग्ने सम्भावना रहेको चौपाया खरिद विक्री संघका सचिव तथा पूर्वाध्यक्ष दीपक थापा बताउँछन् ।
‘विगतका वर्षमा दशैंका लागि चीनबाट च्याङग्रा ल्याइने गरेको भए पनि यसवर्ष कोरोनाका कारण आयात गर्न सकिएन,’ उनले भने, ‘चीनबाट आयात नभएपछि नेपालमा किसानले पनि महँगो बेच्न थालेका छन् । माग अनुसार आपूर्ति कम हुनेपछि च्याङग्राको भाउ ह्वात्तै बढ्ने सम्भावना छ ।’
उनले च्याङ्ग्राको भाउ धेरै बढ्ने भए पनि खसीको सामान्य बढ्ने बताए । भारतीय खसीको मूल्य दशैँमा प्रतिकेजी ६४० रुपैयाँ पुग्ने बताए । हाल बजारमा भारतीय खसीको मूल्य प्रतिकेजी ६२० देखि ६२५ रुपैयाँ रहेको छ । नेपाली खसीको मूल्य प्रतिकेजी ५८० रुपैयाँ देखि ६१० रुपैयाँ रहेको छ ।
उनले दशैँमा खसीको मूल्य १० देखि २० रुपैयाँसम्म वृद्धि हुने बताए । ‘खसीको मूल्य १० देखि २० रुपैयाँ बढ्ने हो दशैँमा, च्याङ्ग्रा चीनबाट नल्याउनाले किसानले पनि महँगो भनेका छन्,’ थापाले चाणक्य पोष्टसँग भने ।
उनले दशैँमा च्याङ्ग्राको मूल्य उपत्यकामा ९०० रुपैयाँ प्रतिकेजी हुन आउने बताए । विगततमा चीनबाट धेरै च्याङग्रा आयात हुने भएकाले मूल्य कम हुने र माग समेत पूरा हुने गरेको थियो ।यो पटक उपत्यकामा २ हजार देखि २५च्याङ्ग्रा मात्र आयात गरिने उनले बताए ।
यस्तै खाद्य व्यापार तथा व्यावसायी कम्पनीकी सूचना अधिकारी सर्मिलाका अनुसार यो पटक च्याङ्ग्राको मूल्य किसान देखिनै महँगो भएकाले त्यसमा सहजीकरणको बाटो खोजिदै छ । उनले खाद्य कम्पनीले किन्न खोजेको भन्दा च्याङ्ग्राको मूल्य धेरै भएको बताइन् । च्याङ्ग्राको मूल्य मुस्ताङ तिर साढे ७ सयदेखि ८०० रुपैयाँ केजी रहेको उनले जानकारी दिइन ।
‘मुस्ताङ तिरै च्याङ्ग्राको मूल्य साढे ७ देखि ८०० रुपैयाँ केजी छ, यहाँ ल्याएर बेच्दा हामीलाई घाटा हुन्छ,’ न्यौपानेले चाणक्य पोष्टसँग भनिन् । उनले मूल्य सहजीकरणका लागि सो क्षेत्रका सिडिओहरुसँग कुरा भइरहेको बताइन् ।
खाद्य कम्पनीले यो वर्ष ३ हजार खसी च्याङग्रा खरिद गर्ने योजना बनाएको छ । सो मध्ये १४०० च्याङ्ग्रा र १६०० खसी खरिद गर्ने तयारी गरेको हो । यो पटक दाङ, हेटौँडा र तुलसिपुरबाट खसीबोका खरिद गर्ने बताइएको छ ।
उपत्यकामा सामान्यतया दैनिक ७०० देखि ८०० केजी जिउँदो खसी विक्री हुने गरेको छ । यो वर्ष दशैँका लागि १५ देखि २० हजार खसीबोका अपुग हुने अनुमान गरिएको छ ।
उपत्यकामा वार्षिक ६ लाख खसी–बोका चाहिन्छ । मुलुकभर १ करोड १८ लाख खसी बोका उत्पादन हुन्छ । वार्षिक ३० प्रतिशत अर्थात् ३३ लाख कटनीमा जान्छ । दशैँमा मुलुकभित्र हेटौंडा, कोहलपुर, कटारी, सुर्खेत, नुवाकोट, सिन्धुपाल्चोकबाट खसीबोका खरिद हुने गरेका छन् ।
चौपाया खरिद विक्री संघका पूर्वाध्यक्ष थापा सरकारले नेपालमा खसी बोका पर्याप्त उत्पादन नहुने बताउछन् । नेपालका पहाडी क्षेत्रमा ३० देखि ३५ प्रतिशत मात्र खसी बोका उत्पादन हुने गरेको उनले दाबी गरे ।
पशुसेवा विभागका अनुसार देशभर ४५ लाखका हाराहारीमा खसी बोका उत्पादन हुने गरेको छ । उत्पादन भएका मध्य ४५ प्रतिशत मात्र खसी बोका बजारसम्म पुग्ने गरेको छ ।