काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै रिक्त अर्थमन्त्री पदमा पौडेललाई नियुक्त गरेका हुन् ।
निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएपछि अर्थमन्त्रालय नेतृत्वविहीन भएको थियो ।
पौडेल अर्थमन्त्री बनेको यो दोस्रो पटक हो । उनी यसअघि प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा २०७२ असोजमा अर्थमन्त्री भएका थिए।
अर्थमन्त्री नियुक्ति भएका पौडेलले अब स्रोत अभावका बीच बजेटको सफल कार्यान्वयन, कोरोनाले शिथिल बनेको अर्थतन्त्र उकास्नु पर्ने लगायत चुनौतीको सामाना गर्नुपर्नेछ ।
यस्तै, प्रधानमन्त्री ओलीले लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् । गुरुङले यसअघि महिला, बालबालिका मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
यस्तै, प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएका छन् । उनले पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएर रक्षा मन्त्रालय आफैसँग राखेका छन् ।
