काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ ।
दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य २ हजार १०० रुपैयाँ आजबाट लागू भएको छ ।
यसअघि सङ्घले ग्यास बिक्रेताले फरक/फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो । तर आजबाट लागू हुने गरी दुर्गमका क्षेत्र बाहेकका जिल्लाका लागि खाली सिलिण्डरको मूल्य लागू गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
उनका अनुसार उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा विक्री गरिए तापनि ग्यासका डिलर अनुसार मूल्य फरक/फरक रहेपछि मूल्य तोकिएको हो । नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिण्डरको दायित्व ग्यास उद्योगले नलिने सङ्घले जनाएको छ ।
सङ्घले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद विक्रेता (डिलर)मार्फत लिनसमेत अुनरोध गरेको छ । रसिद नलिएका सिलिण्डरको जवाफदेही तथा दायित्व उद्योगले नलिने समेत जनाएको छ ।
सङ्घले तोकेको नयाँ मूल्य अुनसार १०० रुपैयाँ विक्रेताका लागि छुट्याइएको जनाएको छ । सङ्घले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिण्डर साट्नु गैरकानूनी भएको भन्दै साटेको थाहा भएमा कारबाही गर्ने जनाएको छ ।
उद्योग तथा विक्रेता अुनसार खाली सिलिण्डरको मूल्य ३ हजार ५०० सम्म लिने गरिएकोमा आजबाट सबै उद्योगका सिलिण्डरको मूल्य २ हजार १०० लागू भएको छ ।