काठमाडौं । क्लासिक लिजेन्ड्स जावाले नेपालमा आफ्ना उत्पादन विक्री शुरू गरेको छ । अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटो इन्कले मंगलबार कार्यक्रम आयोजनागरी शुरूवाती मूल्य ६ लाख २० हजार निर्धारण गर्दै जावा मोटरसाइकल ब्राण्ड सार्वजनिक गरेको हो ।
कम्पनीले जावा क्लासिक र जावा ४२ नेपालमा सार्वजनिक गरेको हो । चेक रिपब्लिकको आइकोनिक ब्राण्ड जावा भारतीय अटो जाइन्ट आनन्द महिन्द्राले खरिद गरेसँगै यसको उत्पादन भारतमा शुरू भएको हो ।
विशेषत रोयल इन्फिल्डका मोटरसाइकलसँग सिधा टक्कर दिने जावाका मोटरसाइकल नेपाल प्रवेशसँगै क्लासिक मोटरसाइकलको पारखीहरुलाई नयाँ अप्सन थप भएको छ ।
जावा र जावा ४२ दुवै मोडललाई कम्पनीले सिंगल च्यानल एबीएस र डबल च्यानल एबीएस भेरियन्टगरि दुई/दुई भेरियन्टमा उपलब्ध गराएको छ । आज आधिकारीक कार्यक्रम आयोजनागरी कम्पनीले ब्राण्ड लञ्च गरेसँगै जावाका मोटरसाइकल ग्राहकले खरिद गर्न सक्ने छन् ।
कम्पनीले जावा सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार ५०० र डबल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख ७६ हजार ५०० तोकेको छ ।
त्यसैगरी जावा ४२ को सिंगल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख २० हजार र डबल च्यानल एबीएस भेरियन्टको मूल्य ६ लाख ४८ हजार रुपैयाँ तोकेर विक्री शुरू गरेको हो ।
यी दुवै मोटरसाइकलमा २९३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको डीओएचसी इन्जिनले २७ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ६ स्पीड गियरबक्स जडान गरिएको छ । उक्त इन्जिन इन्डिया तथा इटालीमा डिजाइन र विकास गरिएको हो ।