श्रीराम सुगर मिल्सले अझै दिएन किसानको पैसा, ४१ करोड भुक्तानी गर्न बाँकी

काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सले अझै पनि उखु किसानको रकम फिर्ता गरेको छैन । श्रीराम सुगर मिल्सका सञ्चालक महम्मदपुर गरुडालाई उद्योग प्रशासनले गत २०७७ साउन ११ गते सूचना प्रकाशन गरी उद्योग बन्द गर्न निर्देशन दिएपछि उखु किसानलाई भुक्तानी दिन बाँकी राखेको पाइएको हो ।

 

उखु उत्पादक संघका अनुसार श्रीराम सुगर मिलले २०७१/७२ सालदेखिका उखुको मूल्य बुझाएको छैन । २०७३ असोज ८ गते भएको किसान र उद्योगी बीच सम्झौता भए अनुसार चिनी उद्योगीहरूले २०७१/७२ मा उखु किसानले भुक्तानी पाउने रकम दशैँ अगाडि भुक्तानी गर्नु पर्ने थियो । तर, उद्योगीहरूले पूरै भुक्तानी गरेका थिएनन् । त्यपछि भुक्तानीका लागि पुनः २०७४ बैशाख १० गते फेरी किसान र उद्योगी बीच सम्झौता गराइयो । तर, त्यो समय पनि उद्योगीहरूले सम्झौता अनुसार पूरा भुक्तानी गरेनन् ।

 

लगातार २०७४ जेठ १ गते पुन उखु किसानको रकम भुक्तानी गर्न सम्झौता भएको थियो तर, सरकारले कुनै चासो नदेखाउँदा किसानले भुक्तानी पाउन सकेनन् ।

 

त्यसपछि २०७६ पुष १५ गते उद्योगीहरूले चिनी र स्प्रिट बेचेर भए पनि उखु किसानको सम्पूर्ण रकम भुक्तानी गर्ने बाचा गरे पनि हालसम्म त्यो रकम पूरा भुक्तानी हुन सकेको छैन ।

 

२०७१/७२ मा किसानले १२ करोड रुपैयाँ भुक्तानी पाउनु पर्ने थियो । २०७५/७६ मा २८ करोड ५० लाख भुक्तानी गर्नु पर्ने, २०७६/७७ मा ५० लाख गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।उखु उत्पादक संघले उखुको भुक्तानी पाउनका लागि विभिन्न निकायमा पहल गरे पनि नयाए पाउन सकेका छैनन् ।

 

संघले २०७६ कात्तिक ३ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई भुक्तानी पाउने बारेमा ज्ञापनपत्र बुझाएको थियो । साथै २०७६ कात्तिक ७ गते फेरि उद्योग मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाइएको थियो । २०७६ मंसिर ६ गते, २०७६ मंसिर १०, २०७६ मंसिर १२, २०७७ साउन १४ गते, २०७७ असोज ७ गते उखुको भुक्तानीका विषयमा विभिन्न ज्ञापनपत्रहरू बुझाइएका थिए ।

 

सरकारले मिल नै बन्द गर्ने निर्णय लिँदा किसानले बाँकी रकम पनि नपाउने र भविष्यमा धेरै समस्याहरू उत्पन्न हुने संघको भनाइ छ । श्रीराम सुगर मिल बन्द हुँदा रौतहटका १८ हजार किसान बेरोजगार हुने सम्भावना रहेको छ । मिल नै बन्द भए पछि किसानले थोरै पाउने रकम समेत रोकिने किसानहरूको गुनासो रहेको छ ।

 

यस्तै उद्योगमा प्रत्यक्ष रोजगार पाएका ३३० स्थानीय श्रमिकहरू समेत उद्योग बन्द हुँदा पीडित हुने छन् । उद्योग बन्द भएपछि हजारौं घरपरिवारको आम्दानीको स्रोत बन्द हुने भन्दै किसानहरूले मिल सञ्चालन गर्न अनुरोध गरेका छन् ।

बुद्ध एयर २४ औं वर्षमा प्रवेश, १३ जहाजमार्फत सेवा दिँदै Read Previous

बुद्ध एयर २४ औं वर्षमा प्रवेश, १३ जहाजमार्फत सेवा दिँदै

सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता Read Next

सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट, नेपाल लाइफमा झुम्मिए लगानीकर्ता