बुद्ध एयर २४ औं वर्षमा प्रवेश, १३ जहाजमार्फत सेवा दिँदै

काठमाडौं । बुद्ध एयर आज २३ औं वर्ष पूरा गरेको छ । सन् १९९७ आजकै दिन अर्थात् ११ अक्टोवरका दिन नेपाली आकाशमा बुद्ध एयरले पहिलो उडान गरेको थियो ।

 

यसले उडानकै शुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो । आज २३ वर्ष पूरा गर्दा बुद्ध एयरसँग १३ जहाज, १ हजार १०० कर्मचारी तथा लाखौं देशीविदेशी यात्रु जोडिन आइपुगेका छन् ।

 

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार ‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ ले हरेक क्षेत्रलाई नराम्ररी प्रभावित गरेको छ । उनले भने, अझ नेपाली आकाशका लागि २४ मार्च ‘कालो दिन’ नै भयो ।

 

‘उडान ठप्प भए पनि जहाजको नियमित मर्मतसम्भार, रेखदेख तथा जनशक्ति सञ्चालन खर्च कटौती गर्न मिल्दैन । बन्दाबन्दी झण्डै ६ महिना रह्यो र आम्दानी पनि शून्य नै । यस्तो अवस्थामा पनि हामीले १ हजार १०० कर्मचारीलाई नियमित रूपमा तलब बाँड्यौं, ’ उनले भने ।

 

बुद्ध एयरले बन्दाबन्दीको केही दिनमै संक्रमणरहित र सुरक्षित हवाई सेवा कसरी सञ्चालन गर्ने भनेर ‘सुरक्षा निर्देशिका’ ल्याएको थियो ।

 

जुन नेपालमै कोभिड विरुद्धको पहिलो निर्देशिका थियो । कम्पनीले यसलाई अक्षरशः पालना गर्दै हरेक कर्मचारीलाई तालिम तथा सुरक्षा कवच पीपीई प्रदान गरेको थियो । यसले महिनौंसम्म काठमाडौंमा मात्र नभई हरेक गन्तव्यमा पूर्वाभ्यास गरेको थियो ।

 

२१ सेप्टेम्बरबाट उडान सञ्चालन हुने भएपछि बुद्ध एयरले भाडादरमा ठूलो कटौती गरेको छ । निम्नमध्य आय भएका नेपालीले पनि सुरक्षित तथा संक्रमणरहित यात्रा गरून् भन्ने एक मात्र उद्देश्य रहेको कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

 

आर्थिक चलायमानका सूचकांकमा यात्रुहरुको ओहोरदोहोर पनि एक हो । आन्तरिक पर्यटनलाई पुनः गति दिन बुद्ध एयरले पर्यटकीय गन्तव्य पोखरा र चितवनलाई प्रचार प्रसार गर्दै यसको भगिनी संस्था बुद्ध होलिडेजले प्याकेजहरु पनि ल्याएको छ ।

 

विदेशीका लागि पनि यी दुई गन्तव्य निकै महत्वपूर्ण छन् । यसलाई सुरक्षित र संक्रमणरहित तरिकाले पर्यटकीय गतिविधि सञ्चालन गर्न सकेको खण्डमा विदेशी पर्यटकलाई पनि आत्मबल पुग्न जाने बुद्ध एयरले विश्वास लिएको छ ।

माछा, मासु र दूधमा आत्मनिर्भर बन्ने लक्ष्यमा कोरोनाले गम्भीर धक्का, लक्ष्यमा पुग्न कठिन Read Previous

माछा, मासु र दूधमा आत्मनिर्भर बन्ने लक्ष्यमा कोरोनाले गम्भीर धक्का, लक्ष्यमा पुग्न कठिन

श्रीराम सुगर मिल्सले अझै दिएन किसानको पैसा, ४१ करोड भुक्तानी गर्न बाँकी Read Next

श्रीराम सुगर मिल्सले अझै दिएन किसानको पैसा, ४१ करोड भुक्तानी गर्न बाँकी