काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले २० हजार मेट्रिकटन चिनी दशैं अघि नै ल्याइसक्ने दाबी गरेको छ । अहिले कर्पोरेशनले अर्डर गरेको चिनी भारतको कलकत्तामा प्याकिङ भइरहेको जनाइएको छ ।
साल्ट ट्रेडिङले २० हजार टन चिनी आयातका लागि रेनुका सुगर मिललाई ठेक्का दिएको हो । साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले हाल कलकत्तामा चिनी प्याक भइरहेको बताए । उनले सो चिनी दुई साता भित्र आइपुग्ने बताए । ‘चिनी अहिले कलकत्तामा प्याकिङ भइरहेको छ । दशैँ अघिनै आइपुग्छ, ढुक्क हुनुस,’ राजभण्डारीले भने ।
साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीलाई ५० प्रतिशत सहुलियतमा ३० हजार मेट्रिकटन चिनी आयात गर्न अनुमति दिएको थियो । सोमध्ये साल्ट ट्रेडिङले २० हजार र व्यापार कम्पनीले १० हजार मेट्रिकटन चिनी आयातको जिम्मा पाएका थिए ।
साल्ट ट्रेडिङले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट स्वीकृति पाएपछि १५ दिने समयसिमा टेन्डर आह्वान गरेको थियो । सो प्रस्ताव आह्वानमा ४ प्रस्ताव आएका थिए । उक्त प्रस्ताव आएकाहरूको उच्च मूल्य प्रस्ताव रहेको तर, प्रस्ताव गरेका मध्ये कसैले जमानत जम्मा नगरेकोले उनीहरूको प्रस्ताव खारेज गरिएको थियो ।
त्यसपछि साल्ट ट्रेडिङले फेरि रिटेन्डर आह्वान गरेको थियो । साल्ट ट्रेडिङले भदौ ७ गते फेरि रिटेन्डर गरेको र त्यसैबाट रेनुका सुगर मिलले ठेक्का पाएको थियो ।
साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीलाई ५० प्रतिशत सहुलियतमा ३० हजार मेट्रिकटन चिनी आयात गर्न अनुमति दिएको थियो । सोमध्ये साल्ट ट्रेडिङले २० हजार र व्यापार कम्पनीले १० हजार मेट्रिकटन चिनी आयातको जिम्मा पाएका थिए ।
हाल बजारमा चिनीको आपूर्ति कम भएसँगै कृत्रिम मूल्यवृद्धि हुँदै गएको छ । साल्ट ट्रेडिङसँग ४०० मेट्रिकटन चिनी मौज्दात रहेको छ । सामान्यतया चाडपर्वमा चिनीको अभाव र मूल्य वृद्धि सधैजसो हुने गरेको छ । तर, यो वर्ष कोभिडका कारणले समेत धेरै समस्या उत्पन्न हुन सक्ने देखिन्छ । यसले गर्दा चिनी समयमा आइपुग्ने कुरामा अझै संकोच रहेको छ । विगतका वर्षहरूमा हेर्ने हो भने कात्तिक अघि चिनी आयात भएको अवस्था छैन ।
खाद्य व्यवस्थापन कम्पनीको ठेकेदार छनोट हुनै बाँकी
खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले भने कात्तिकको मध्यतिर मात्र चिनी ल्याउन सक्ने जनाएको छ । खाद्य कम्पनीकी सूचना अधिकारी सर्मिता सुवेदीले तिहारलाई लक्षित गरी चिनी ल्याउने तयारी भइरहेको बताइन् ।
व्यापार कम्पनीले १० हजार मेट्रिकटन चिनी आयात गर्ने टेन्डर प्रक्रिया शुरू गरिसकेको जनाएको छ । खाद्य व्यवस्थापन कम्पनीले चिनी आयात गर्न ४५ दिने टेन्डर आह्वान गरेको छ । सो आवेदनको अन्तिम मिति असोज २९ गते सकिँदै छ । ठेक्का आह्वानमा आवेदनको समय सकिएपछि मूल्याङकन गरिने छ । त्यसपछि ठेकेदार कम्पनी छनोट गरी चिनी आयात गरिने छ । यसका लागि समय अझै बढी लाग्ने देखिन्छ ।
खाद्य व्यवस्थापन कम्पनीले भदौ ७ गते टेन्डर आह्वान गरेको थियो । सूचना अधिकारी सुवेदिले टेन्डर आह्वान भएपछि पनि सरकारको नीति अनुसार टेन्डर प्रक्रिया धेरै लामो भएको बताइन् । कम्पनी छनोटका आधारमा चिनी आयात निर्धारण गर्ने भएका केही समय पर्खिनु पर्ने उनले बताइन् ।
‘चिनी तिहारका लागि आउने हो, अझै समय बाँकी छ, हामीले सरकारको निती अनुसार काम गर्नु पर्छ, प्रक्रिया नै लामो छ, यसमा हामीले केही गर्न सक्दैनौँ,’ सुवेदीले भनिन् ।
नेपालमा वार्षिक २ लाख ६० हजार मेट्रिकटन चिनी खपत हुँदै आएको छ । दैनिक करिब ७१५ किलो चिनी खपत हुन्छ ।चिनी उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ४ जनाको परिवारले एक वर्षमा १० किलोसम्म चिनी खपत गर्ने गरेका छन् ।
नेपालमा चाडवाडको समयमा चिनीको खपत बढ्ने गरेको छ । खपत बढेसँगै व्यवसायीहरूले चिनीको कृत्रिम अभाव गर्दै मूल्य बढाउने गरेका छन् । चाडवाडको बेला हुने कालोबजारी नियन्त्रण गर्न नसक्दा र फितलो अनुगमनका कारण उपभोक्ता महँगोमा चिनी किन्न बाध्य हुँदै आएका छन् ।