काठमाडौं । भुक्तानी सेवा प्रदायक संस्थाले सञ्चालन गरेका वालेटमार्फत राजस्व भुक्तानी गर्दा बढीमा ३० रुपैयाँसम्म शुल्क लाग्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै वालेटमार्फत सरकारी खातामा राजश्व दाखिला गर्दा बढीमा ३० रुपैयाँमा शुल्क लिन पाउने गरी शुल्क निर्धारण गरेको हो ।
केन्द्रीय बैंकले भुक्तानी प्रणली सम्बन्धि एकीकृत निर्देशिका २०७७ मा खण्ड ‘घ’ थप गर्दै यस्तो व्यवस्था गरेको हो।
निर्देशनमा उल्लेख गरिए अनुसार १ हजार रुपैयाँसम्म कारोबार रकम भएका निःशुल्क गर्न सक्ने, सो भन्दा माथि ३ हजार रुपैयाँसम्म कारोबार रकम भएमा ५ रुपैयाँ लिन पाउने व्यवस्था गरिएको छ ।
३ हजार भन्दा माथि १० हजारसम्मको कारोबारका लागि १० रुपैयाँ लिन पाउने र १० हजार भन्दा माथि ३० रुपैयाँ शुल्क लिन पाउने उल्लेख गरिएको छ ।
पछिल्लो समय कोरोना महामारीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै पुस मसान्तसम्म निशुल्क भुक्तानी हुनुपर्ने र माघ १ गते देखि तोकिएको रकम लिन पाउने राष्ट्र बैंकले जानकारी गराएको छ ।
