काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजारले क्रमशः लय समात्दै गएको छ । करिब ४ महिनाकै अवधिमा नेप्से सूचक करिब ४०० अंकले फड्को मारेको छ ।
यस अवधिमा नेप्सेमा सूचीकृत अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । विशेष गरी हाइड्रोपावरको सेयरमा उछाल आएको छ । दुई महिना अघिसम्म नेप्सेमा सूचीकृत ५० प्रतिशत कम्पनीको सेयर मूल्य आइपीओभन्दा पनि सस्तो अर्थात् प्रतिकित्ता १०० रुपैयाँभन्दा तल थियो ।
वर्षैदेखि लगानीकर्तालाई कुनै प्रतिफल दिन नसक्नु, विविध कारणले आयोजनाको लागत महँगिदै जानु, बैंकको ब्याजदर मँहगो हुनु लगायत कारणले हाइड्रोपावरको सेयरमा लगानीकर्ताको खासै आकर्षण हुन सकेको थिएन् । सर्वसाधरणमा सेयर जारी गर्ने कम्पनीको आइपीओ समेत नबिकेर अन्डर राइटरले व्यहोर्नुपर्ने अवस्था थियो ।
पछिल्लो समय हाइड्रोको सेयरमा उछाल आउनुमा बैंकको ब्याजदर सस्तो हुनु, अन्य क्षेत्रका कम्पनीको तुलनामा यस क्षेत्रका कप्पनीको सेयर मूल्य निकै सस्तो हुनु, कोरोनाबाट कम क्षेत्र भएकाले व्यापारमा खासै असर नपर्दा आम्दानीमा असर नपर्नु लगायत कारण रहेको जानकारहरु बताउँछन् ।
तर, पछिल्लो समय हाइड्रोसेयरले ‘यू टर्न’ लिएको छ । करिब दुई महिनाकै अवधिमा हाइड्रोपावर क्षेत्रको परिसूचक ४०० अंकले बढेको छ । साउन १८ गते हाइड्रो परिसूचक ९७० रहेकोमा बिहीबारसम्म दुई महिनामै ४३२ अंकले बढेर १४०२ पुगेको छ । १७ कम्पनीको सेयर मूल्य दोब्बर भएको छ भने केहीको तेब्बरसम्म पनि भएको छ ।

यस अवधिमा झन्डै आधा दर्जन कम्पनीको सेयर मूल्य अढाई गुणाले बढेको छ । औसतमा १०२ प्रतिशतले बढेको छ । साउनमा डेढ दर्जन कम्पनीको सेयर मूल्य १०० रुपैयाँभन्दा कम रहेकोमा अहिले कुनै कम्पनीको पनि सेयर मूल्य १२५ रुपैयाँभन्दा कम छैन ।
यस अवधिमा खानीखोला हाइड्रोपावरको सेयर मूलय सबैभन्दा धेरै १८७ प्रतिशत बढेको छ । साउन १८ गते प्रतिकित्ता ४७ रुपैयाँ रहेको यसको सेयर मूल्य अहिले झन्डै तेब्बर अर्थात् १३५ रुपैयाँ पुगेको छ ।
यस्तै, यस अवधिमा अरूणा भ्यालीको ९४ बाट २६९ दिव्यश्वरीको ४७ रुपैयाँबाट १३१, आँखुखोलाको ४८ बाट १२८, युनियनको ५० बाट १३२ रुपैयाँ पुगेको छ ।
ठूला र राम्रो लाभांश दिने कम्पनीको भने खासै भाउ बढेन
यस अवधिमा विगतमा लाभांश नदिएका, अहिले पनि रिजर्भ कोष र रिर्टन ऋणत्मक रहेका कम्पनीको सेयर मूल्य अचाक्ली बढे पनि विगतका वर्षहरु देखिनै राम्रो प्रतिफल दिँदै आएका र भविष्यमा पनि राम्रो प्रतिफल दिन सक्ने, रिजर्भ कोष लगायत आधारभूत वित्तीय सूचक बलिया रहेका कम्पनीहरु भने लगानीकर्ताको रोजाइमा पर्न नसकेको पाइएको छ ।
जलविद्युत् क्षेत्रकै लिडिङ कम्पनी चिलिमे, वुटवल पावर लगायत कम्पनीको सेयरमा लगानीकर्ताको खासै आकर्षण देखिएको छैन ।
साउन १८ गते प्रतिकित्ता रहेका ४०९ रुपैयाँ रहेकोमा अहिले करिब २० प्रतिशतले मात्र बढेर ५०९ रुपैयाँ पुगेको छ । त्यस्तै, वुटवल पावरको सेयर मूल्य ३५१ बाट बढेर ४१३ रुपैयाँ बढेको छ ।
किन हाइड्रोमा झुम्मिए लगानीकर्ता
पछिल्लो समय हाइड्रोको सेयरमा उछाल आउनुमा बैंकको ब्याजदर सस्तो हुनु, अन्य क्षेत्रका कम्पनीको तुलनामा यस क्षेत्रका कप्पनीको सेयर मूल्य निकै सस्तो हुनु, कोरोनाबाट कम क्षेत्र भएकाले व्यापारमा खासै असर नपर्दा आम्दानीमा असर नपर्नु लगायत कारण रहेको जानकारहरु बताउँछन् ।

कोरोनाका कारण बैंकहरुमा कर्जाको माग घटेसँगै ब्याजदर समेत घट्न थालेको छ । गत असारमहिनायता १४ प्रतिशतको ब्याजदर ८ प्रतिशतमा झरिसकेको छ । यसले कम्पनीहरुले बैंकलाई तिर्नु पर्ने ब्याज खर्चमा ठूलो कटौती भएको छ । र, ब्याज बापत तिर्नुपर्ने पैसा बचत भएपछि कम्पनीहरुको लाभांश क्षमता बढेकाले लगानीकर्ता यसप्रति आकर्षित भएका हुन् । आगामी त्रैमासमा जलविद्युत् कम्पनीहरूले राम्रो वासलात पस्कन सक्ने आंकलन सचेत लगानीकर्ताहरूले गरेका छन् ।
त्यस्तै, अन्य क्षेत्रका कम्पनीको तुलनामा हाइड्रोपावर कम्पनीको सेयर मूलय निकै सस्तो भएकाले पनि लगानीकर्ता यसमा झुम्मिएका हुन् । केही बैंक तथा वित्त कम्पनीकै हाराहारीमा लाभांश दिँदै आएका कम्पनीको मूल्य समेत निकै आइपीभन्दा केही मात्र बढी भएकाले लगानीकर्ता हाइड्रोमा झुम्मिएको जानकारहरु बताउँछन् ।
यस्तै, कोरानाबाट अन्य क्षेत्र शिथिल हुँदा पनि हाइड्रोपावरको आम्दानीमा भने खासै असर परेको छैन् । कोरोना कालमा पनि जलविद्युत् कम्पनीहरू आफ्नो पूर्ण क्षमतामा सञ्चालन गरिरहेका छन् । जसले आम्दानीमा कुनै असर परेको देखिँदैन ।
यस्तै, सरकाले बजेटमार्फत जलविद्युत् कम्पनीको सुरुङमा प्रयोय हुने फलाम (पाइइमा ) लागाइएको भ्याट खारेजी गर्ने निर्णय गरसँगै निमार्णाधीन आयोजनाको लागत समेत केही घट्ने भएको छ । आयोजनाको लागत घट्ने भएपछि लगानीकर्ताले पाउने प्रतिफल बढ्ने भएकाले पनि लगानीकर्ता हाइड्रोमा आकर्षित भएका हुन् ।