काठमाडौं । भाटभटेनी सुपरमार्केटले नेपालमै पहिलो पटक जापानी खाना ‘बेन्तो’ विक्री गर्ने भएको छ । होक्काइदो रामन हाउसले भाटभटेनीसँग सहकार्य गर्दै नेपाली बजारमा‘बेन्तो’ विक्रीमा ल्याएको हो ।
आजदेखि विक्री शुरू भएको बेन्तो विभिन्न ५ प्रकारका उपलब्ध हुनेछ । हाललाई यो भाटभटेनीको नक्साल आउटलेटमा किन्न पाइने छ भने क्रमशः भाटभटेनीका अन्य आउटलेटमा पनि विस्तार गरिने जनाइएको छ ।
होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीका अनुसार निकट भविष्यमै आफ्नै मिनी आउटलेट संचालन गरी काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा विक्री बढाउँदै लगिने छ ।
‘बेन्तो’ भन्नाले एकजनालाई पुग्ने खाना पसल र रेष्टुँराबाट “टेक आउट” अथवा घरमै बनाइएको पनि बाहिर बोकेर जान मिल्ने खाना भन्ने बुझिन्छ । यसको शुरूवात जापानमा भएको हो । बेन्तोमा प्राय भात, नुडल, माछा, मासु , पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेश गरिएको हुन्छ ।

‘बेन्तो’ जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार हुन्छ । आफ्नै बारीमा फलेका तरकारी र अन्य सामाग्रीबाट जापानमा तालिम प्राप्त कुकहरुले बेन्तो तयार पार्छन ।
‘जापानी खाद्य संंस्कृतिको चिनारी गर्दै हाम्रा ग्राहकहरूलाई स्वादमा सन्तुष्टि र स्वास्थ्यको विशेष ख्याल राख्दै जापानी खानाको सौन्दर्यलाई कायम राख्नेछौं । हामी भाटभटेनी सुपरमार्केटको साथै हातेमालो गर्दै बजारमा आइसकेका छौं बेन्तोको साथ, लन्च, डिनर वा स्न्याक्सलाई तपाईंहरूलाई साथ दिन्छौं,’ प्रबन्ध निर्देशक अधिकारीले भने ।