काठमाडौं । पछिल्लो एकडेढ दशकयता नेपालमा आन्तरिक पर्यटनको संस्कृति बढ्दै गएको छ । काठमाडौं उपत्यकामा बसेर काम गर्नेहरु पनि उपत्यका धेरै साँघुरो हुँदै गएका कारण शुक्रबार–शनिबार नजिकैका डाडाँकाडाँमा जाने चलन पनि व्यापक रूपमा बढ्दै गएको छ ।
हाल महामारीको कारणले यो चलन केही अवरुद्ध हुन पुगेपनि आन्तरिक पर्यटकहरुलाई लक्षित गर्दै विभिन्न गन्तव्यहरू निर्माण भइरहेको छन्, काठमाडौं वरपर ।

स्वच्छ हावा र नयाँ वातावरणमा रमाउन चाहनेहरूका लागि काठमाडौंको रत्नपार्कबाट करिब २० किलोमिटर र गागलफेदीबाट ५ किलोमिटरको दूरीमा रहेको कागेश्वरी नगरपालीका १ नम्बर वडा स्थित लाेकतान्त्रिक शहिद पार्क चर्चित गन्तव्यको रूपमा उदाइरहेको छ ।
भाइरसको महामारीको कारणले लामो समयसम्म घरमा थुनिएका मानिसहरुको लागि दशैंमा स्वास्थ्य ‘प्रोटोकल’को पालना गर्दै घुम्नका लागि यो ठाउँ उपर्युक्त गन्तव्य हुनसक्छ ।

काठमाडौंको गागलफेदीदेखि शहिद पार्कसम्मको यो हाइकिङ रुट पछिल्लो समय चर्चित भइरहेको छ । गागलफेदीबाट दुई घन्टा हिँड्दा शहिद पार्कसम्म पुगिन्छ ।
अहिलेको अवस्थामा पनि सामान्य दिनमा दैनिक ८०–९० जना र बिदाको दिन २५० जनासम्म आन्तरिक पर्यटक यहाँ घुम्न आउने गरेको स्थानीय बताउँछन् । यही अवसरलाई ध्यानमा राख्दै यो रुटमा नयाँ नयाँ रेष्टुरेन्ट, होटल र विश्रामस्थलहरू खुल्न थालेका छन् । साथै, यो रुटमा ढलान गरिएको पक्की बाटो पनि बनिसहेको छ । यो रुट २०७१ सालदेखि निर्माण शुरू गरिएको थियो ।

‘अहिले हामीले ४ मिटरको बाटो ढलान गरेका छौं तर, यो बाटो १० मिटर सम्मकाे फराकिलो बनाउने योजना छ’, कागेश्वरी मनोहरा नगरपालीका वडा नं. १ का वडाअध्यक्ष मुकुन्द गजुरेलले चाणक्य पोष्टसँग भने ।

भविष्यको योजना सुनाउँदै वडाअध्यक्ष गजुरेल भन्छन् ‘एकै पटक ठूलो बजेट खर्च खर्न सक्ने अवस्था नभएकाले विस्तारै काम अगाडि बढीरहेको छ । भोलिको दिनमा यो बाटोलाई बढाएर चिसापानीसम्मको रुट तयार गर्ने काम भइरहेको छ ।’

वडाले यो क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलको रूपमा विकास गर्दै जाने योजना बनाएको सुनाउँदै उनले भने ‘सहिद स्थम्भ निर्माण गर्ने, अन्य मनोरञ्जन स्थल निर्माण गर्ने र कागेश्वरी मन्दिर क्षेत्रको पनि विकास गर्दै लाने तयारी गरेका छौं ।’

पर्यटकहरूका लागि शहिद पार्कको अलावा कागेश्वरी मन्दिर पनि प्रमुख गन्तव्यको रुपमा यो रुटमा रहेको छ । अब आउने काग तिहारको दिन ठूलो कागको प्रतिमा यो पार्ककाे प्राङगणमा स्थापना गर्न लागिएको वडाअध्यक्ष गजुरेलले जानकारी दिए ।






