काठमाडौं । सरकारले भारतबाट गुणस्तर प्रमाणपत्र नभएका पशुजन्य वस्तु आयातमा प्रतिबन्ध लगाए पनि व्यापारीहरुले लुकिछिपि दैनिक सयौं संख्यामा खसीबोका ल्याइरहेको पाइएको छ ।
भन्सार नाका हुँदै आयात नगरिए पनि व्यापारीहरुले दशैंलाई लक्षित गर्दै अवैध बाटोबाट दैनिक ३०० भन्दा बढी खसीबोका ल्याउने गरेका हुन् । चौपाया खरिद विक्री संघका सचिव तथा पूर्वाध्याक्ष दीपक थापा दैनिका भारतीय बजारबाट चोरि निकासी गरी खसी बोका आयात भइरहेको बताउँछन् ।
दशैंमा नेपाली बजारमा खसीको माग धेरै हुने र नेपाली बजारमा पनि पर्याप्त उपलब्ध नभएको मौका छोपी जस्ता खसीबोका पनि विक्री हुने देखेपछि व्यापारीहरु अवैध आयातमा सक्रिय भएका हुन् ।
उनले भारतीय बजारबाट दैनिक ३०० देखि ५०० गोटा खसीबोका आयात भइरहेको दाबी गरे । नेपाली उत्पादन खसीको तुलनामा भारतीय खसीमा मासु बढी हुने भएकाले व्यापारीले अवैध ओसारपसार गर्न थालेका हुन् ।
दशैंमा नेपाली बजारमा खसीको माग धेरै हुने र नेपाली बजारमा पनि पर्याप्त उपलब्ध नभएको मौका छोपी अवैध आयातमा सक्रिय भएका हुन् । भारतीय खसीको मूल्य नेपाली बजारमा प्रतिकेजी ६३० रुपैयाँदेखि ६३५ रुपैयाँ रहेको छ । नेपाली खसीको मूल्य बजारमा ५७० रुपैयाँदेखि ६०० रुपैयाँ प्रतिकेजी रहेको छ । नेपाली खसीको मूल्य कम भए पनि भारतीय खसीको मासु बढी हुने हुँदा लोकल खसी बजारमा विक्री हुन गाह्रो भएको उनले बताए ।
उनले नेपाली खसी ३० केजी काट्दा १५ केजी मासु समेत मुस्कीलले हुने बताए । भारतीय ३० केजीको खसी काट्दा १७ केजीसम्म मासु हुने भएकाले मासु व्यापारीहरुले बढि भारतीय खसी किन्ने गरेको बताए ।
‘भारतबाट भन्सार छलि गरी लुकिछुपी खसी बोका आयात भइरहेको छ, यसलाई नियन्त्रण गर्न सरकारले समेत केही गरेको छैन, सरकारी निकायकै लापरवाहीका कारण सहजै विचौलिया हुँदै भारतीय खसी बोका आयात भइरहेको छ,’ थापाले चाणक्यपोष्टसँग भने ‘भारतीय खसी बोका खुल्ले आम ल्याएर विक्री हुँदा नेपाली लोकल खसीबोकाले बजार पाएका छैनन, हामीले ल्याएको खसी बोका विक्री नै नहुने अवस्थामा छ ।’
सरकारले गुणस्तर प्रमाणपत्र भएका पशुजन्य वस्तु मात्र आयात गर्ने व्यवस्था गरेको छ । सो व्यवस्था कार्यान्वयनमा ल्याए लगतै खसीबोका आयात निरन्तर घटिरहेको थियो । चालू आर्थिक वर्षको २ महिना (साउन र भदौ) मा भन्सारमा प्रमाणित भएर कुनै पनि खसीबोका आयात नभएको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागका तथ्यांक अधिकृत मोहन पुडाशैनी चालू आर्थिक वर्षको २ महिनामा कुनैपनि भन्सारबाट खसीबोका आयात नभएको बताउछन् । ‘यो वर्ष भन्सार नाका हुँदै कुनै पनि खसीबोका आएको छैन,’ उनले भने ।
विगतमा भारतीय खसीको मूल्य ७ सय रुपैयाँ प्रतिकेजी रहेको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाका महानिर्देशक नेत्रप्रशाद सुवेदी विभागले मात्र एकलै अनुगमन अथवा आयात रोक्न नसक्ने बताउछन् । उनले खुल्ला बोडरका खसीबोका सहजै आयात भएकाले कडाई गर्न गाह्रो भएको बताए ।
‘विभागले मात्र एकलैले यो सबै नियन्त्रण गर्न सक्दैन, हामीले विभागसँग सहकार्य गरी यसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छौँ, खुल्ला नाका भएकाले सहजै चोरि निकासी गरी आएको हो,’ महानिर्देशक सुवेदीले चाणक्य पोष्टसँग भने । पशुसेवा विभागले भन्सारमा खसीबोका राख्न क्वारेन्टीन व्यवस्था गरे पनि यो वर्ष आधिकारीक प्रमाणपत्र लिएर कुनै पनि खसीबोका आयात भएको छैन ।
काठमाडौं २५ प्रतिशतले खसी बोका माग घट्ने
यो वर्ष काठमाडौंमा विगतको दशैंमा भन्दा २५ प्रतिशतले खसी बोका खपत घट्ने भएको छ । कोरोनाका कारण उपत्यकामा बस्ने अधिकांश मानिस गाउँ फर्किएकाले काठमाडौंमा खसी बोका माग कम हुने अनुमान गरिएको हो ।
‘यो वर्ष कोरोना भाइरसका कारण उपत्यकाबाट धेरै मानिसहरु बाहिरिएकाले खपत नै कम हुन्छ,’ चौपाया खरिद विक्री संघका पूर्वाध्यक्ष थापाले भने ‘यो वर्ष दशैँका लागि देशभर १५ देखि २० हजार खसीबोका अपुग हुने उनी बताउँछन् ।’
नेपालमा खसी बोका पर्याप्त उत्पादन हुने नगरेको उनी बताउँछन् । नेपालका पहाडी क्षेत्रमा ३० देखि ३५ प्रतिशत मात्र खसीबोका उत्पादन हुने गरेको उनले दाबी गरे । सरकार भने नेपाल खसीबोकामा आत्म निर्भर भएको बताउँदै आएको छ । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार नेपालमा आन्तरिक उत्पादन बढ्दै गएसँगै खसी बोका आयात घट्न थालेको छ ।
उपत्यकामा वार्षिक ६ लाख खसी–बोका चाहिन्छ । मुलुकभर १ करोड १८ लाख खसी बोका उत्पादन हुन्छ । वार्षिक ३० प्रतिशत अर्थात् ३३ लाख कटनीमा जान्छ । सहकारी संस्थाले पनि पर्याप्त उत्पादन गरेकाले व्यवसायीले जिल्लामा संकलन गर्नुपर्ने उनले बताए । मुलुकभित्र हेटौंडा, कोहलपुर, कटारी, सुर्खेत, नुवाकोट, सिन्धुपाल्चोकबाट पनि खरिद हुन्छ ।
ढकालले यो पटक कोभिड १९ का कारणले पनि खसी बोका आयातमा धेरै कमि आउने बताए । ‘खसी बोका आयात विगतको तुलनामा धेरै घटेको छ, यो पटक झन कोभिडका कारण भारतीय खसी बोका आयात गर्ने सम्भावना छैन,’ ढकालले चाणक्य पोष्टसँग भने ‘हाम्रो आन्तरिक उत्पादनले यसको माग धान्न सक्छ, आयात गर्नै पर्छ भन्ने छैन, लुकिछिपी केही आए भने त्यो छुट्टै हो ।’
भन्सारमा खसी बोका आयातको कर समेत बढाए पछि नेपाली ग्रामिण भेगबाट ल्याउने खसी र भारतबाट ल्याउनेको मूल्य उस्तै पर्न जाने भएकाले भारतीय खसीबोकाले नेपालमा बजार पाउन नसक्ने बताए ।
पशुसेवा विभागका अनुसार देशभर ४५ लाखका हाराहारीमा खसी बोका उत्पादन हुने गरेको छ । उत्पादन भएका मध्य ४५ प्रतिशत मात्र खसी बोका बजारसम्म पुग्ने गरेको छ ।