विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने दौडमा रहेको भारतलाई ठूलो धक्का, आगामी वर्ष अर्थतन्त्र ९.६ प्रतिशत खुम्चने

कोरोना भाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ ।

 

कोरोना भाइरसको असर बाँकी नै रहेका कारण दक्षिण एसियाली अर्थतन्त्रमा सर्वाधिक असर पर्ने पनि बैंकले जनाएको छ । खासगरी अनौपचारिक क्षेत्रमा कार्यरत ठूलो संख्याका कामदारहरुले रोजगारी गुमाउने र लाखौं मानिस गरिबीको दुश्चक्रमा पर्ने बैंकको भनाइ छ ।

 

विगत पाँच वर्षदेखि वार्षिक ६ प्रतिशतको आर्थिक वृद्धिदर रहेको दक्षिण एसियाको अर्थतन्त्र कोरोनाभाइरसका कारण यसअघि ७.७ प्रतिशत खुम्चने अनुमान गरिएको थियो ।

 

क्षेत्रीय वृद्धि सन् २०२१ मा ४.५ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ । तर कोभिड–१९ ले पुर्याएको क्षतिलाई ४.५ प्रतिशतको आर्थिक वृद्धिले सम्बोधन गर्न निकै कठिन हुनेछ ।

 

विगतका आर्थिक मन्दीमा पनि लगानी र निर्यातमा हुने गरेका कमीले अर्थतन्त्रमा संकट निम्त्याउने गरेका थिए । यस पटक भने परिस्थिति भिन्न छ । वैयक्तिक उपभोग्य सूचकांकमा पनि १० प्रतिशतभन्दा बढीले कमी आउने देखिएको छ ।केही मुलुकमा विप्रेषणको आयमा पनि कमी आउने र त्यसबाट जीविकोपार्जनमा समस्या उत्पन्न हुनेछ ।

 

दक्षिण एसियाका कूल मजदूरमध्ये खासगरी पर्यटन, खुद्रा व्यापार र यातायात क्षेत्रका मजदूर सबैभन्दा ठूलो समस्यामा रहेका अध्ययनले देखाएको छ । गरिबीमा पिल्सिएका जनताले खाद्यान्नको बढ्दो मूल्यको सामना गर्नु परेको छ ।

 

सानो संख्याका अनौपचारिक क्षेत्रमा संलग्न व्यक्तिहरुले मात्र सामाजिक बीमामा पहुँच बनाएका छन् वा उनीहरुसँग सानोतिनो बचत रकम रहेको वा वित्तीय संस्थासँग पहुँच छ । विश्व बैंकको प्रतिवेदनमा सरकारहरुले सबैलाई सामाजिक सुरक्षा उपलब्ध गराउन आग्रह गरिएको छ । साथै अधिकाधिक उत्पादकत्व, सीप विकास र मानव पुँजी निर्माणमा सरकारहरुले ध्यान दिनु पर्नेमा जोड दिइएको छ ।

 

आर्थिक पुनरुत्थानलाई गति दिन सरकारहरुले अन्तर्राष्ट्रिय र स्वदेशी लगानी जुटाउनु पर्ने बैंकको भनाइ छ । दीर्घकालीन रुपमा डिजिटल प्रविधिले अनौपचारिक क्षेत्रका कामदारका लागि नयाँ अवसर सिर्जना गर्न मद्दत गर्ने, दक्षिण एसियालाई बढी प्रतिस्पर्धी बनाउने तथा बजारसँग बढी अन्तरसम्बन्धित बनाउने पनि बैंकको अनुमान छ ।

सांस्कृतिक संस्थानले सीएम ट्रेडिङसँगको ३० वर्षे भाडा सम्झौता तोड्यो, प्राधिकरणसँग नयाँ सम्झौता Read Previous

सांस्कृतिक संस्थानले सीएम ट्रेडिङसँगको ३० वर्षे भाडा सम्झौता तोड्यो, प्राधिकरणसँग नयाँ सम्झौता

भारतबाट अवैध खसीबोका भित्र्याउन व्यापारी सक्रिय, सरकारी अनुगमन शून्य Read Next

भारतबाट अवैध खसीबोका भित्र्याउन व्यापारी सक्रिय, सरकारी अनुगमन शून्य