सांस्कृतिक संस्थानले सीएम ट्रेडिङसँगको ३० वर्षे भाडा सम्झौता तोड्यो, प्राधिकरणसँग नयाँ सम्झौता

काठमाडौं । सांस्कृतिक संस्थानले सीएम ट्रेडिङ इन्टरप्राइजेज प्रालिसँग भएको ३० वर्षे सम्झौता भङ्ग गरी नेपाल दूरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईका उपस्थितिमा संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोकप्यासी राई र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालबीच मङ्गलबार सम्झौता आदानप्रदान गरिएको हो ।

 

काठमाडौँको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यवस्थापनका लागि सीएम ट्रेडिङ र संस्थानबीच २०६४ सालमा ३० वर्षे सम्झौता भएको थियो । अत्यन्त न्यून दरभाउमा सम्झौता भएको भन्दै शुरुदेखि नै उक्त सम्झौतामाथि प्रश्न उठ्दै आएको थियो ।

 

मन्त्री भट्टराईले नयाँ सम्झौताले संस्थान आत्मनिर्भरतर्फ अघि बढेको बताउँदै अध्यक्ष तथा महाप्रबन्धकलाई धन्यवाद दिए । सीएम ट्रेडिङसँगको सम्झौतानुसार आव २०७७/०७८ सम्म आइपुग्दा प्रतिवर्गफिट मासिक २० रुपैयाँ मात्र थियो । सोही स्थान दूरसञ्चार प्राधिकरणसँग मासिक प्रतिवर्गफिट ७० रुपैयाँ भाडा दर कायम गरी सम्झौता भएको छ ।

 

सांस्कृतिक संस्थान सञ्चालक समितिका अध्यक्ष अधिकारीले संस्थानको समृद्धिका लागि पुरानो सम्झौता बाधक भएको बताए । ‘संस्थानको समृद्धिका लागि सिएम ट्रेड्रिङसँगको सम्झौता भङ्ग हुनु जरुरी थियो,’ अध्यक्ष अधिकारीले भने, ‘संस्थानमा अरु पनि केही जटिल समस्या छन् । हरेक समस्या समाधानका लागि मेहनत गरिरहेका छौँ ।’

 

सीएम ट्रेडिङसँग भएको सम्झौता भङ्ग गरी प्राधिकरणसँग जीटुजी मोडेलमा नयाँ सम्झौता गरिएको महाप्रबन्धक राईले बताए । ‘सङ्गीन अवस्थामा गुज्रिरहेको संस्थानको समृद्धिका लागि निर्मम भएर त्यस्ता समस्याको समीक्षा गर्न जरुरी छ,’ उनले भने ।

 

गत पुसदेखि कार्यभार सम्हालेका महाप्रबन्धक राईले संस्थान सुधारका लागि २२ बुँदे कार्ययोजना प्रस्तुत गर्दै सिएम ट्रेडिङसँग भएको असन्तुलित सम्झौतालाई पुनरवलोकन गरिने पनि उल्लेख गरेका थिए ।

 

सीएम ट्रेड्रिङसँगको सम्झौतानुसार आव २०७७/७८ मा संस्थानले लगभग १ करोड ३० लाख रुपैयाँ प्राप्त गर्थ्यो भने प्राधिकरणबाट २ करोड ५ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

 

नयाँ सम्झौतामा प्रत्येक २ वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने पनि उल्लेख छ । दशवर्षे नयाँ सम्झौतानुसार आव २०८७/८८ मा संस्थानले प्राधिकरणबाट वार्षिक ३ करोड ८ लाख रुपैयाँ प्राप्त गर्नेछ । पुरोना सम्झौतानुसार संस्थानले १ करोड ७१ लाख रुपैयाँ मात्र पाउने थियो ।

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओ आउँदै Read Previous

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओ आउँदै

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने दौडमा रहेको भारतलाई ठूलो धक्का, आगामी वर्ष अर्थतन्त्र ९.६ प्रतिशत खुम्चने Read Next

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने दौडमा रहेको भारतलाई ठूलो धक्का, आगामी वर्ष अर्थतन्त्र ९.६ प्रतिशत खुम्चने