काठमाडौं । मेडलिज ट्रेडर्समा करीब १० लाख रुपैयाँ बराबरका म्याद सकिएका खाद्यवस्तु भेटिएका छन् ।
काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा कालोपुलमा सञ्चालन रहेको मेडलिज ट्रेडर्समा म्याद सकिएका सामाग्री भेटिएका हुन् ।
ट्रेडर्सकी सञ्चालिका भगवती सिग्देलले लकडाउनका कारण सामान हेर्न नभ्याएको बताएकी छन् । ‘लकडाउन भयो । सामान हेर्न भ्याइएन । तपाईहरु अर्कोपटक आउँदा, सुधार भएको पाउनु हुनेछ,’ उनले भनिन् ।
अनुगमन टोलीले सञ्चालकलाई ३ दिनभित्र कृषि विभागमा हाजिर हुन निर्देशन दिएको छ । मार्टमा भएका अधिकांश सामान उपभोग गर्ने अवस्थाका नभेटिएको कृषि विभागका प्रमुख एवं अनुगमन टोलीका संयोजक हरिबहादुर भण्डारीले बताए । ‘ मार्टमा भेटिएका अधिकांश सामानहरुको म्याद सकिएको थियो, यो समस्या अधिकांश मार्टमा देखिएको छ,’ उनले भने ।
पछिल्लो समय गुणस्तरीय सामानका लागि मार्टमा जाने उपभोक्ता गुणस्तरमा झन् ठगिएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले राम्रा भनिएका ठाउँमा झनै समस्या देखिएको बताए । ‘राम्रा भनिएका ठउँमै समस्या छ झन अन्यत्र के होला?’ उनले भने ।