काठमाडौं । सूचना प्रविधि पार्कमा स्थापित सुरक्षण मुद्रण केन्द्रमा सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण छापाखाना) को काम तीव्र गतिमा अघि बढिरहेको छ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित उक्त पार्कभित्र आवश्यक भौतिक पूर्वाधार निर्माण प्रक्रियाले तीव्रता पाएको हो ।
सरकारले गत वर्ष राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्ट कार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सिमकार्डलगायत सुरक्षित छपाइका सामग्री पार्कमा प्रेस स्थापना गर्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधारको काम थाल्न आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन भई कामको शुरुआत गरिएको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले बताए ।
उनका अनुसार प्रेसको सम्पूर्ण काम ३३ अर्बमा सम्पन्न हुनेछ । ‘प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत वार्षिक रुपमा बाहिरिने १० अर्ब बच्दै जानेछ,’ पौडेलले भने ।
वर्षौँदेखि प्रयोगविहीन पार्कमा सुरक्षण मुद्रण केन्द्र स्थापना गरी प्रेसको काम शुरु गरिएको हो । छापाखाना स्थापनार्थ आवश्यक भवन निर्माणका लागि जमीन सम्याउने, पर्खाल निर्माण गर्ने तथा पार्कभित्रै भवनमा पहुँचमार्ग निर्माण गर्ने कामलाई तीव्रता दिइएको छ ।
खानेपानीका लागि एकएक लाख लिटरका खानेपानीका दुई ट्याङकीसमेत जडान गरिएका छन् । विद्युत्को अभाव भएका समयमा छापाखानाका लागि आवश्यक पर्ने चार ठूला जेनेरेटर जडान गरिएको छ । हाल जेनेरेटर सञ्चालन गर्ने डिजेल भण्डारणका लागि तीन लाख लिटर क्षमताको अण्डरग्राउण्ड डिजेल ट्याङकी निर्माण भएको छ ।
२५७ रोपनी जमीनमा रहेको पार्कभित्र हाल दुई ठूला भवन र सुविधासम्पन्न चार आवासीय भवनलगायत ९ भवन छन् । प्रेसका विभिन्न भवन निर्माण प्रक्रियामा एकदुई भवन भत्काउनुपर्ने पौडेलले जानकारी दिए । उनका अनुसार प्रेसका लागि २०० प्राविधिकसहित करीब १ हजार जनशक्तिको आवश्यकता पर्नेछ ।
सरकारले सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्न कार्यमूलक एवं नतिजामूलक गुरुयोजनानुरुप पहिलो चरणमा नेपाललाई ५ वर्षभित्र आत्मनिर्भर बनाउने तथा दोस्रो चरणमा आगामी दश वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिणपूर्वी एशियाका राष्ट्रहरुलाई उपलब्ध गराउने छ ।
तेस्रो चरणमा आगामी १५ वर्षभित्र सुरक्षण मुद्रणसम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयुक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकमा उपलब्ध गराउने रणनीति तय गरिएको छ ।