सेयर बजारमा ७ महिना यताकै उच्च विन्दुमा, हाइड्रो र विकास बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर पछिल्लो ७ महिना यताकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से सूचक १४ अंकले बढेर १६०० विन्दू पार गरेको छ । यो २०७६ फागुन यताकै उच्च विन्दु हो । गत फागुन १७ गते नेप्से सूचक साढे दुई वर्ष यताकै उच्च १६३२ विन्दुमा पुगेको थियो ।

 

पछिल्लो समय बजार क्रमशः उकालो लाग्दै गएपछि लगानीकर्ताको मनोबल बलियो हुँदा बजारले निरन्तर गति लिएको छ । असार यता निरन्तर उकालो लागेको सेयर बजार पछिल्लो ३ महिनामै करिब ४०० अंकले बढेको छ ।

 

पछिल्लो समय बजारमैत्री वातावरण सृजना भएपछि बजारले छलाङ मारेको हो । कोरोनाका कारण अन्य क्षेत्रमा लगानीको वातावरण नहुँदा बैंकिङ प्रणालीमा अधिक तरलता हुनु, बैंकको ब्याजदर सस्तो हुनु, सेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्याउनु, बजारमा ठूला लगानीकर्ता प्रवेश गर्नु लगायत कारणले बजारले गति लिँदै गएको हो ।

 

साथै, पछिल्लो समय पूर्ण अनलाइन प्रणालीबाट कारोबार हुन थालेपछि बजारमा लगानीकर्ताको सहभागिता बढेको छ । यसले गर्दा बजारमा नयाँ लगानीकर्ता र थप पूँजी भित्रिन सहयोग पुगेको छ । जसले बजारलाई चलायमान बनाउँदै लगेको अनुमान गर्न सकिन्छ ।

 

सेयर बजार मापक सूचक नेप्से आज १४.६८ विन्दुले बढेर १६००.९८ विन्दुमा पुगेको छ । यसदिन १९५ कम्पनीको ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ३ वटा समूहको परिसूचक ओरालो लागेका छन् । आज विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ७७.९८अंकले बढेको छ भने व्यापार समूहको परिसूचक ३.१४ अंकले घटेको छ ।

 

बढ्दो बजारमा आज पनि लगानीकर्ताको हाइड्रोपावर र विकास बैंकको सेयरमा झुम्मिएका छन् । पछिल्ला केही दिन यता हाइड्रोमा झुम्मिएका लगानीकर्ता आजपनि त्यसलाई निरन्तार दिएका हुन् ।

 

तुलनात्मक रूपमा अन्य क्षेत्रका कम्पनीभन्दा हाइड्रोको सेयर मूल्य सस्तो, कोरोनाबाट कम प्रभावित क्षेत्र भएकाले लगानीकर्ता हाइड्रोको सेयरप्रति आकर्षित भएका हुन् ।अहिले पनि केही कम्पनीको मूल्य आइपीओको भन्दा केही मात्र बढी रहेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा अरुण काबेली हाइड्रोपावर कम्पनी परेको छ । यसको सबैभन्दा धेरै १५ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अरुण भ्याली र सानिमा माइ हाइड्रोपावरको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज २ दर्जनबढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज कर्णाली डेभलपमेन्ट बैंक, नेशनल, ङादी पावर, वरुण, साञ्जेन हाइड्रोपावर लगायत २५ कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।आज लक्ष्मी इक्वीटी म्युचुअल फण्डका सेयरधनीले सबैभन्दा धेरै ३.११ प्रतिशतले गुमाएका छन् ।

कतार एयरवेजले २१ हजार शिक्षकलाई निःशुल्क टिकट दिने Read Previous

कतार एयरवेजले २१ हजार शिक्षकलाई निःशुल्क टिकट दिने

३३ अर्ब लागतमा सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाको काम तीव्र, वार्षिक १० अर्ब जोगिने Read Next

३३ अर्ब लागतमा सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाको काम तीव्र, वार्षिक १० अर्ब जोगिने