काठमाडौं । कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।
उनका अनुसार विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि–नोक्सानी पुर्याउँदै आएका भारत उत्तराखण्ड चम्पावत जिल्ला बनवासाका ५५ वर्षीय व्यापारी सुशील गर्गलाई नेपाल–भारत सीमा क्षेत्र कञ्चनपुरको भिमदत्त नगरपालिका–१० स्थित गड्डाचौकीबाट प्रक्राउ गरिएको छ ।
‘अभियुक्त गर्गलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएका छौँ,’ उनले भने, ‘उक्त सङ्गठित अपराध मुद्दा पनि टेकुबाटै चलेको थियो ।’ उक्त मुद्दामा कृषि विकास बैंक मुख्य कार्यालयका तर्फबाट कानून विभागको कामु शाखाप्रमुख देवीप्रसाद पोखरेलले जाहेरी दिएका थिए ।
उक्त मुद्दामा अझै केही व्यक्तिहरु फरार रहेको प्रहरीको भनाइ छ । गर्गलाई जिल्ला प्रहरी कार्यालयले कारबाहीका लागि काठमाडौँ पठाइसकेको छ ।