सानिमा जनरल इन्स्योरेन्सको आइपीओ कति कित्ता भर्नु उपयुक्त

काठमाडौं। सानिमा जनरल इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बुधबारदेखि विक्री खुला भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ विक्री खुला गरेको हो ।

 

कम्पनीले निष्काशन गरेको ३० लाख कित्तामध्ये १ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोष र १ लाख २० हजार कित्ता (४ प्रतिशत) कम्पनीका कर्मचारीका लागि छुटयाएको छ। बाँकी २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीको आइपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ।

 

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ भने आइपीओ निष्काशन पछि १ अर्ब रुपैयाँ पुग्नेछ ।

 

कति कित्ताका लागि आवेदन दिनु उपयुक्त

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने व्यवस्था छ ।

 

कम्पनीले सर्वसाधरणलाई २७ लाख ३० हजार कित्ता छुट्याएको छ । सो अनुसार सानिमाको आइपीओ समानुपातिक रुपमा बाँड्दा २ लाख ७३ हजार आवेदकलाई १० कित्ताका दरले बाँडफाँट गर्न पुग्दछ। तर, २ लाख ७३ जनाभन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट भाग्यशाली आवेदकले मात्र १० कित्ता पाउने सम्भावना हुन्छ ।

 

पछिल्लो समय खुलेका आइपीओमा करिब ८ लाख भन्दा बढीले आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा  १० कित्ता पाउनका लागि पनि भाग्यमै भर पर्नुपर्ने देखिन्छ । तसर्थ अधिकतम १० कित्ताका लागि १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा फरार भारतीय व्यापारी पक्राउ Read Previous

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा फरार भारतीय व्यापारी पक्राउ

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त Read Next

नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल नियुक्त