काठमाडौं । विगतका वर्षहरुमा दशैँ नजिकिएसँगै राजधानीका मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, महाबौद्ध लगायत बजारमा गनएनसक्नु भीडभाड हुन्थ्यो । सो बाटो हुँदै हिँड्न मुश्किल हुने गथ्र्यो । तर, यो पटक दशैँ आउनु १० दिन मात्र बाँकी रहँदा समेत कुनै चहलपहल छैन । बजार सुनसान छ । व्यापारीहरु ग्राहकको पर्खाइमा टोलाएर बस्न बाध्य छन् ।
सधैं भीडामभीड हुने पसलहरु अहिले बोहनी समेत हुन्छ कि भन्ने आशमा बसेका भेटिन्छन् । सामान्य समयमा व्यापार जस्तो भए पनि दशैँमा त केही फस्टाउला कि भन्ने आशामा बसेका व्यापारीहरुलाई अहिले आफ्नो पसलको भाडा तिर्ने पैसा उठाउन हम्मे हम्मे परिरहेको छ ।
असनमा २७ वर्षदेखि कपडा पसल सञ्चालन गर्दै बसेका रविकुमार गुप्ता पसलमा ग्राहकको पर्खाइमा थिए । सधैं दशैँको बेला भ्याइ नभ्याइ कपडा देखाउन व्यस्त रहने उनी यो पट निकै फुर्सदिला देखिन्थे ।
कोरोना कहरले ठूलो आर्थिक क्षति बेहोरेर लामो समयदेखि पीडा महशुस गरिरहेका कतिपय व्यापारी भाडामा बसेका छन् । कमाइ नहुँदा भाडा तिर्न सक्ने अवस्थामा छैनन् भने परिवार पाल्ने समस्यामा छन् ।
कोरोनाका कारण उनले चैत १० गतेदेखि नै पसल बन्द गर्नु परेको थियो । बल्ल तल्ल खुलेको लकडाउनमा केही व्यापार होला कि भन्दै दैनिक पसल खोल्ने गरेका उनी निराश भइ घर फर्किने गर्छन । उनले लकडाउन तथा निषेधाज्ञाका क्रममा झण्डै १२ लाख रुपैयाँ घाटा बेहोर्नु परेको बताए । ‘सधै यो बेला खुट्टा टेक्ने ठाउँ हुँदैन थियो, अहिले एउटा पनि व्यापार छैन,’ गुप्ताले चाणक्य पोष्टसँग भने ‘पसल र घरको भाडा तिर्न धौधौ परिरहेको छ ।’
यस्तै असनमा १५ वर्षदेखि भाँडा व्यापार गर्दै बसेका छोइसाङ लामा पनि ग्राहककै पर्खाइमा मोबाई चलाउँदै बसेका थिए । उनी यो पटक बोहनी हुनु नै ठूलो सम्झिन छन् । विगतका समयमा दशैँमा दैनिक १५ जना बढी ग्राहकलाई भाँडा बेच्ने उनी यो पटक हातमुख जोर्नै गाह्रो भएको बताउँछन् । ‘पहिला व्यापार कति भयो भनेर सोधिन्थ्यो, अहिले बोहनी भयो कि भएन भनेर सोध्ने गरिन्छ,’ लामाले चाणक्य पोष्टसँग भने ।
उनले पसलको भाडाका कारणले ७ लाख बढीघाटा बेहोर्नु परेको बताए ।
यस्तै महाबौद्धमा जुत्ता पसल रहेका सुनिल शर्मा ६/७ महिना पछि पसल खोल्दा पनि साँवामै सामान दिँदा पनि लैजाने ग्राहक नभएको बताउँछन् । उनले विगतमा जस्तो मान्छे नभएको भन्दै आफ्नो दुःख समेत व्यक्त गर्न नचाहेको बताए । यी त केही प्रतिनिधि व्यापारी हुन् । अहिले असन, महाबौद्ध लगायत बजारमा अधिकांश व्यापारीको अवस्था उस्तै छ ।
कोरोनाका कारण उपत्यकामा बस्ने मानिसहरु गाउँ फर्किएका र यहाँ बसोबास गरिरहेका मध्यम वर्गको पनि रोजीरोटी गुमेकाले उपभोक्ताको क्रयशक्तिमा ह्रास आउँदा व्यापारमा मन्दी आएको व्यापारीहरुको भनाइ छ ।
खुद्रा व्यापार नभए पनि होलसेल पसलमा भने अलिअलि व्यापार भइरहेको व्यापारीहरु बताउँछन् । इन्द्रचोकका २० वर्षदेखि कपडाको होलसेल व्यापार गर्दै सुस्मा घिमिरे विगतमा जस्तो व्यापार नभए पनि ग्राहक कुररे बस्नु पर्ने अवस्था नरहेको बताउँछिन् । ‘धेरै त छैन तर, नहुनु भन्दा ठीकै भइरहेको छ, होलसेलमा दिने भएकाले पसलहरुबाट किन्ने आउने गरेका छन्,’ उनले भनिन् ।
कोरोना अझै कम हुने छाँटकाँट नभएकाले व्यापारको अनिश्चित भूमरीमा दोकान खोलेर बस्न बाध्य छन् व्यवसायी । उनीहरुमा छिट्टै व्यापार हुने अभिलासा हराएको छैन । दशैँको आसपास व्यापार बढ्छ कि भन्ने झिनो आशा सङ्गालेर बसेका छन् ।
त्यसो त उपत्यकाको मात्रै होइन विभिन्न जिल्लाका व्यापारिक केन्द्र पनि सुनसान नै छ । अझै पनि कतिपय भीडभाड हुने मुख्य केन्द्रहरु सञ्चालन हुन सकिरहेको छैन । असोज १ पछि सार्वजनिक यातायात सञ्चालनमा छ । त्यही पनि भौतिक दूरी कायम राखेर एक सिटमा एक जना बस्ने गरी चलाइएको छ । अन्य केही व्यवसायलाई चलायमान पारिएको छ ।
कोरोना कहरले ठूलो आर्थिक क्षति बेहोरेर लामो समयदेखि पीडा महशुस गरिरहेका कतिपय व्यापारी भाडामा बसेका छन् । कमाइ नहुँदा भाडा तिर्न सक्ने अवस्थामा छैनन् भने परिवार पाल्ने समस्यामा छन् । चैतदेखि कोभिड-१९ को नकारात्मक प्रभावले व्यापार नहुँदा दैनिकी सञ्चालनमा समस्या परिरहेको उनीहरु सुनाउँछन् ।