काठमाडौं । नेको इन्स्योरेन्सले आजदेखि संस्थापक समूहको करिब पौने ११ लाख कित्ता सेयर लिलामीमार्फत विक्री खुला गरेको छ ।
कम्पनीले संस्थापक समूहको १० लाख ७० हजार २०६.८४ कित्ता सेयर लिलामीमार्फत विक्री गर्न लागेको हो ।
कम्पनीको सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले गोप्य शिलबन्दीमार्फत आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले प्रतिकित्ता न्यूनतम मूल्य ३९५ रुपैयाँ नघटाई आफूले तिर्न चाहेको मूल्य अंकित गरी कात्तिक ४ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले कम्पनीको सेयर विक्री प्रबन्धक सनराइज क्यापिटलमा आवेदन बुझाउनु पर्नेछ ।
शिलबन्दी बोलपत्रहरु कार्यालयमा संकलन भएपछि बोलपत्र खोलिने समय, मिति र स्थानको जानकारी सार्वजनिक सूचना मार्फत गरिने सनराइज क्यापिटलले जनाएको छ ।