काठमाडौं । ज्योति विकास बैंक र आइएमई–पेबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । ग्राहकवर्गहरुलाई डिजिटल भुक्तानी सेवा अझ सहज बनाउनको लागि बैंकले आइएमई पेसँग सहकार्य गरेको हो।
सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र आइएमई पेका तर्फबाट डाइरेक्टर खिलेन्द्र पौड्यालले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी आइएमई पेको प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन्।
आइएमई पेको मोबाइल एप प्रयोग गरी बैंकका ग्राहकहरुले मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डिटिएच भुक्तानी, बीमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, होटेल रुम बुकिङ, अनलाइन सामान खरिद जस्ता थुप्रै सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल ९७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ४० वटा एटीएम मार्फत बैंकिङ सेवा उपलव्ध गराउँदै आएको छ । बैंकले यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाएको छ ।