कर बढाएर खतिवडाले गरेको गल्ती सरकारले सच्यायो, अब कति सस्तिन्छ इलेक्ट्रिक कार

काठमाडौं । निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारीमा कर बढाएर गरेको गल्ती सरकारले सच्याएको छ ।

 

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले खतिवडाले चालू आवको बजेट मार्फत विद्युतीय सवारीमा बढाएको अन्तःशुल्क घटाएको हो ।

 

खतिवडाले चालू आवको बजेटमार्फत सरकारको नीति र सत्तारूढ दल नेकपाकै घोषणापत्र विपरीत विद्युतीय सवारी आयातमा अचाक्ली कर बढाएका थिए । त्यसको चौतर्फी विरोध भए पनि खविडाले सार्वजनिक रुपमै बढाइएको करको दरमा परिमार्जन नहुने बताएका थिए ।

 

बजेटमार्फत खतिवडाले विद्युतीय सवारीमा यसअघि लाग्दै आएको १० प्रतिशत भन्सारलाई वृद्धिगरी ८० र त्यसैगरी यसअघि शून्य प्रतिशत रहेको अन्तःशुल्क पनि वुद्धि गरी ८० प्रतिशतनै पुर्याएका थिए ।

 

सरकारले पनि चौतर्फी विरोधका बीच खतिवडा पदमा रहुन्जेल विद्युतीय सवारीमा बढाइएको कर घटाउने बारे केही बोलेको थिएन् । तर, अहिले खतिवडा पदमुक्त भएपछि भने उनलाई  अप्ठेरो नपार्ने गरी सरकारले करको दरमा केही परिमार्जन गरेको हो ।

 

भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भए लगत्तै आफ्नो विशेष सल्लाहाकारमा नियुक्त गरेका थिए । त्यसको १५ दिन नबित्दै प्रधानमन्त्रीकै जोडबलमा सरकारले खतिवडालाई बिहीबार अमेरिकाको राजदूतमा सिफारिस गरेको थियो । प्रधानमन्त्रीका प्रिय पात्र भएकै कारण खतिवडा आफूले गरेका गल्ती समेत नसच्याइ अडिग रहँदै आएका थिए ।

 

अब कति सस्तिन्छ इलेक्ट्रिक कार

 

चालू आवको बजेट मार्फत बढाइएको कर मध्ये अन्तःशुल्कमा केही छुट दिने सरकारले घोषणासँगै अब विद्युतीय कारको मूल्य केही कम हुने भएको छ ।

 

नयाँ व्यवस्था अनुसार भन्सार शुल्कमा कुनै परिवर्तन गरिएको छैन । सबै किसिमका विद्युतीय कारमा ४० प्रतिशत भन्सार शुल्क लाग्ने छ भने अन्तःशुल्क कारको मोटर क्षमताका आधारमा लगाइएकाले यसमा भने परिमार्जन हुने छ ।

 

यसअघि ५० किलोबाट क्षमतासम्मका कारमा लगाइएको ३० प्रतिशत अन्तःशुल्कमा मन्त्रीपरिषद्ले ८० प्रतिशत छुट दिने घोषणा गरेको छ । सरकारको निर्णयपछि ५० किलोवाट क्षमताका कारमा ६ प्रतिशत मात्रै अन्तःशुल्क लागने छ ।

 

त्यसैगरी ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताको मोटर भएका कारमा ४० प्रतिशत अन्तःशुल्क लाग्नेमा अब नयाँ निर्णय अनुसार ७५ प्रतिशत अन्तःशुल्कमा छुट दिने घोषणा भएको छ । उक्त छुट अनुसार अब १० प्रतिशत अन्तःशुल्क लाग्ने छ ।

 

१०१ किलोवाटदेखि १५० किलोवाट क्षमता कारमा ५० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा अहिले दिइएको ७० प्रतिशत छुटले हिसाब गर्दा अब १५ प्रतिशत मात्रै लाग्ने छ ।

 

यी भन्दा माथीका क्षमता भएका कारमा भने खासै धेरै छुट उपलब्ध छैन भने नियमित बिक्रीको लागि गाडी पनि नेपाल आएका छैनन् ।

 

अब हेरौ नयाँ मूल्य कति पर्ला

 

सरकारले विद्युतीय गाडीमा कर बढाएपछि कुनै पनि कम्पनीले भन्सार छुटाएर गाडी ल्याएका छैनन् भने पुरानो गाडी पहिलेकै मूल्यमा बिक्री गरेर सकेका छन् ।

 

बजेट लगत्तै लागेको कर र अहिले अन्तःशुल्कमा दिइएको छुटलाई आधार मान्दा विद्युतीय कारको मूल्यमा केही परिवर्तन आउने देखिएको छ । भन्सार दरमा कुनै परिमार्जन गरिएको छैन । नयाँ व्यवस्था अनुसार १० लाखको गाडीमा करिब ३ लाख ३६ हजार रुपैयाँले अन्तःशुल्क कम लाग्ने छ ।

 

अन्तःशुल्क कम भएसँगै गाडीमा लाग्ने भ्याट रकमपनि कम हुन्छ । यसअघि १० लाखको गाडीमा भन्सार र अन्तःशुल्क जोडिएपछिको मूल्यमा २ लाख ३६ हजार ६०० रुपैयाँ भ्याट तिर्नु पथ्र्यो भने अब १ लाख ९२ हजार ९२० रुपैयाँ भ्याट तिर्नु पर्ने हुन्छ । यसरी हेर्दा भ्याट वापत लाग्ने ४३ हजार ६८० रुपैयाँ कम हुने छ ।

 

सडक निर्माण दस्तुरमा पनि केही कमी हुने छ । पहिलेको व्यवस्था अनुसार भ्याटपछिको मूल्यमा ५ प्रतिशत सडक निर्माण दस्तुर लाग्ने हुँदा १ लाख २ हजार ८३० रुपैयाँ तिर्नु पथ्र्यो । अन्तःशुल्क घट्दा सडक निर्माण दस्तुर पनि १८ हजार ९८४ रुपैयाँ कम लाग्ने छ ।

 

यसरी गर्छन् आयातकर्ताले मूल्य निर्धारण

 

माथी उल्लेखित सबै रकम गाडी आयातकर्ता कम्पनीले तिर्नु पर्ने रकम हो । जसमा १० लाख मूल्यमा किनेर ल्याएको गाडीमा सरकारले ७ लाख ६० हजार ७३७ रुपैयाँ कर बापत लिने छ । त्यसपछि गाडीको मूल्य १७ लाख ६० हजार ७३७ रुपैयाँ पुग्ने छ ।

 

त्यसमा कम्पनीले आफ्नो विभिन्न खर्चहरु जस्तै ढुवानी, प्रशासनिक, विज्ञापन, दार्ता शुल्क, गाडी नेपाल ल्याएर राख्दा लाग्ने व्याज लगायतका खर्च आँकलन गरेर बिक्रेताले मूल्य निर्धारण गर्छन् ।

सिभिल बैंकको सेयर १०० रुपैयाँमै किन्ने अवसर, कम्तीमा १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने Read Previous

सिभिल बैंकको सेयर १०० रुपैयाँमै किन्ने अवसर, कम्तीमा १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने

मेगा बैंकले शुरू गर्‍यो किसान कार्ड सहितको 'मेगा स्मार्ट कृषि’ सेवा Read Next

मेगा बैंकले शुरू गर्‍यो किसान कार्ड सहितको 'मेगा स्मार्ट कृषि’ सेवा