आफै मिटर रिडिङ गरी अग्रिम महसुल तिरे २५ प्रतिशत छुट पाइने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्डमा २५ प्रतिशतसम्म छुट दिने भएको छ ।

 

प्राधिकरणले एक सार्वजनिक सूचनामार्फत जरिवानाबाट बच्न तथा समय समेत बचाउन उक्त व्यवस्था गरिएको जनाएको छ ।

 

केही दिन पहिले प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ग्राहकलाई जरिवाना नलिन निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार नै प्राधिकरणले सूचनामार्फत अग्रिम भुक्तानी गर्न र २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको हो ।

 

प्राधिकरणले जारी गरेको सूचनाअनुसार मिटर रिडर मिटर पढन नआएमा वा विल प्राप्त नभएमा ग्राहकले सम्बन्धित कार्यालयमा सम्पर्क गरी विल लिनु ग्राहकको कर्तव्य भएको जनाएको छ ।

 

नियमानुसार ग्राहकले मिटर रिडिङ हुने दिन समेत गरि ७ दिन भित्र विल भुक्तानी गर्दा विल रकममा २५ छुट पाइँदै आएको स्मरण गरेको छ । यस्तै ८ औंं दिनदेखि १५औं दिनसम्म बुझाएमा विल रकम मात्र बुझाए हुने व्यवस्था छ । निमायनुसार १६ औं दिनदेखि ३०औं दिनसम्म बुझाएमा ५ प्रतिशत थप शुल्क लाग्दछ ।

 

३१औं दिनदेखि ४०औं दिनसम्म बुझाएमा १० प्रतिशत र ४१औं दिनपछि भने २५ प्रतिशत थप दस्तुर लाग्छ । ६०औं दिन भित्र पनि महशुल भुक्तानी नभएका जुनसुकै समयमा विद्युत् लाइन काट्न सकिने व्यवस्था रहेको छ ।

 

“ विगतका महिनाको औषत विल अनुमान गरी कति महिनासम्मको विल भुक्तानी गर्न सकिन्छ सो वरावरको रकम अनुमान गरी अग्रिम वुझाएमा पछि विद्युत् महशुल अनुसारको विल हिसाव मिलान गर्दा २५ छुट पाइने छ ।” प्राधिकरणको सूचनामा भनिएको छ ।

 

विद्युत् महशुल भुक्तानी गर्न ढीला हुँदा लाग्ने जरीवानाबाट समेत वच्न सकिने, प्रत्येक महिना काउन्टरमा गई रहन नपर्ने, समय बचत हुने र यातायात खर्च समेत बच्ने प्राधिकरणको भनाइ छ ।

 

यस्तै ग्राहक स्वयंले मिटर पढन जान्नु उत्तम रहेको भन्दै आफै मिटर रिडिङ्ग हुने दिनमा कति अंक मिटरमा पुगेको छ त्यो टिप्नु राम्रो हुने प्राधिकरणले जनाएको छ ।

डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोलको भने यथावत Read Previous

डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोलको भने यथावत

सिद्धार्थ बैंकको ३ अर्बको ऋणपत्र खुल्यो, कहाँबाट दिने आवेदन Read Next

सिद्धार्थ बैंकको ३ अर्बको ऋणपत्र खुल्यो, कहाँबाट दिने आवेदन