काठमाडौं । सरकारले आजदेखि दशैं, तिहार र छठलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकाससंस्थानसँग सहकार्य गर्दै देशभर सुपथ मूल्य सञ्चालन गरेको हो ।
व्यापार कम्पनीले देशभरका आफ्ना कार्यालय, डिपो, डिलर तथा घुम्ती पसलमार्फत् सुपथ मूल्य पसल शुरु गरेको हो ।
काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी, कोटेश्वर, सतुंगल, ललितपुर, भक्तपुर लगायत १६ स्थानमा र उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लगायत ६५ स्थानमा सुपथ पसल सञ्चालन हुनेछन् । यस्ता पसलहरु आगामी मंसिर ६ गतेसम्म सञ्चालन हुने व्यापार कम्पनीले जनाएको छ ।
सुपथ मूल्य पसलमा उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा उपभोग्य सामग्री पाउने छन् । व्यापार कम्पनीका अनुसार खाद्य सामग्रीमा २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिइएको छ । चिनीमा प्रतिकेजी १० रुपैयाँ, चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा प्रतिकिलो २ रुपैयाँ, बासमती चामल, गेडागुडी र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ ।
नुन र चिनी भने प्रति परिवार ४ केजीका दरले मात्रै दिइन्छ।त्यस्तै च्यांग्रा र खसी–बोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने जनाइएको छ ।